महतोले धुलोचटाएका निधीले सत्ताको पावर देखाए, कांग्रेसका कार्यकर्तालाई लज्जित बनाए

बर्दिबास । प्रतिनिधि सभामा तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोसँग पराजित भएका नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधीले महोत्तरीमा सत्ताको पावर देखाएका छन् ।

कांग्रेसले सरकारको नेतृत्व गरेपछि पहिलो पटक निधीले महोत्तरीमा पावर देखाएका हुन् । निधीले भाडामा गाडीहरू ल्याउन लगाएर, नेता कार्यकर्तालाई जम्मा पारेर आफ्नो स्वागत गर्न लगाएको आरोप छ ।

यसअघि, खड्गप्रसाद ओलीको सरकारमा उप–प्रधान र शहरी विकास मन्त्री बनेका राजेन्द्र महतो र उप–प्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठले धनुषामा सत्ताको पावर देखाएका थिए ।

महतो र महासेठलाई मात खुवाउने गरेर निधीले बिहीबार महोत्तरीमा सत्ताको नाटक देखाएको आरोप छ ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गुट छाडेर आफ्नै गुट बनाउन शुरु गरेका निधीले यस पटक मन्त्री पाएनन् ।

मन्त्री नपाएपछि रन्थनिएका निधीले महोत्तरीमा पावर देखाउन भने पछि परेनन् ।

उप–सभापति निधीलाई स्वागत गर्न सयौं सवारी साधन लिएर कार्यकर्ता बर्दिबास पुगेका थिए । मोटरसाइकल र चारपाङ्ग्रे सवारीको लावालस्करले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध बनेको थियो ।

बर्दिबासबाट जलेश्वरसम्म करिब २५ किलोमिटरको यात्रा गर्दा उनलाई ठाउँ–ठाउँमा कार्यकर्ताले स्वागत गरेका हुन् । उनको स्वागतका लागि ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरिएको थियो ।

निधीलाई स्वागत गर्न कांग्रेसबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव पनि पुगेका थिए ।

महोत्तरीको जलेश्वरस्थित महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन र शालिक अनावरण गर्न उप–सभापति निधी महोत्तरी आएका थिए ।

Published : Friday, 2021 July 23, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया