बारामा कांग्रस बिगारेर काठमाडौंमा मन्त्री खोज्दै चौधरी, नेताहरू सानेपामा न्याय माग्दै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद उमाकान्त चौधरीले आफ्नो गृहजिल्ला बारामा भाँडभैला मच्चाएका छन् । चौधरीको हर्कतविरुद्ध बिहीबारदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बारा कांग्रेसका शीर्ष नेताहरू धर्नामा बसेका छन् ।

बारा जिल्लाका कांग्रेसका कार्यकर्ताहरूलाई क्रियाशील सदस्यता लिनबाट बञ्चित गराएर आफू भने मन्त्री बन्न काठमाडौंमा शीर्ष नेताहरूको घरघरमा लबिङ गर्दै हिँडेको खुलासा भएको छ ।

नेता कृष्णप्रसाद सिटौला समूहमा रहेर लाभ लिँदै आएका चौधरीले बारामा क्रियाशील सदस्यता वितरणमा बबण्डर मच्चाएका छन् । चौधरीको हर्कतविरुद्ध बारा जिल्लाका ईमान्दार नेता कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।

केन्द्रीय सदस्य चौधरीका कारण हजारौँ कार्यकर्ताहरू क्रियाशील सदस्यता लिनबाट बञ्चित हुने अवस्था सिर्जना भएपछि नेपाली कांग्रेस बाराका सभापति जयचन्द चौरसियासहित १ सयभन्दा धेरै नेताहरू अन्यायमा परेको भनेर कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् ।

बारा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएका केन्द्रीय सदस्य चौधरीले आफैलाई मतदान गरेर जिताएका कार्यकर्ताहरूलाई क्रियाशील सदस्यता दिनबाट रोकेर अन्याय गरेको उजुरी केन्द्रीय कार्यालय सानेपामा छ ।

जिल्ला सभापति चौरसियासहित चार वटा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू पनि धर्नामा बसेका छन् । क्षेत्र नं. १ का सभापति विजयशंकर यादव, २ का सभापति रामप्रवेश यादव, ३ का सभापति मुकेश कुशवाह र ४ का सभापति सुनिल गुप्तासहित १ सयभन्दा धेरै नेताहरू धर्नामा बसेका छन् ।

क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवम् सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादवले बारा जिल्लामा नयाँ र पुराना गरि झण्डै १२ हजार क्रियाशील सदस्यताका लागि आवेदन दिइएको बताए ।

‘हामीले १२ हजार क्रियाशील सदस्यताका लागि सूची केन्द्रमा पठाएका छौँ’, उनले भने, ‘क्रियाशील सदस्यता विवाद छानविन समितिले हाम्रो सुनुवाई गरेको छैन । अहिलेसम्म हाम्रो फाइल खोलेको छैन । अन्याय भएपछि हामी चार जना क्षेत्रीय सभापति र जिल्ला सभापतिसहित बाराका अगुवा नेताहरू न्याय माग्न पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छौँ ।’

बारा जिल्लामा समायोजनको कुरा पनि समाधान भइसकेको छ । तर, केन्द्रीय सदस्य चौधरीले लफडा गरेका छन् । बारा जिल्लामा केन्द्रीय सदस्य चौधरी अल्पमतमा छन् । जिल्लाभित्रै अल्पमतमा रहेका चौधरीका कारण बारामा कांग्रेस कमजोर हुने देखिएको चर्चा छ ।

चौधरी केही वर्ष अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका बेला अनियमितता र भ्रष्टाचार गरेको भनेर बद्नामी कमाएका थिए । चौधरीले त्यस बेला कांग्रेसको नराम्रोसँग बद्नामी गरेको आरोप छ ।

केन्द्रीय सदस्य चौधरीले लफडा गरेपछि बारा जिल्लामा पुरानै कृयाशील सदस्यतालाई आधार बनाएर महाधिवेशन गर्न खोजिएको छ । तर, बारा कांग्रेसले नयाँलाई क्रियाशील सदस्यता दिएर मात्रै महाधिवेशन गर्न माग राखेका छन् ।

Published : Friday, 2021 July 23, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया