कम्युनिस्ट मेयर र हाकिमको बोका काण्डको भण्डाफोर, यसरी बनेको थियो पैसा कुम्ल्याउने प्लान, बेलबारीमा खैलाबैला

काठमाडौं । मोरङको बेलबारी नगरपालिकाको बोयर बोका, बाख्रा छानविन समिति २०७८ समक्ष बेलबारी नगरपालिकाका प्रतिनिधि विजय तामाङले दिएको बयानले खैलाबैला भएको छ ।

लिखित बयानमा तामाङले बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रदीप शाहविरुद्ध विभिन्न लाञ्छाना र अभियोगहरू लगाएका छन् । तामाङले बोका बाख्रा प्रकरणमा प्रमुख सुवेदीले ४० लाख र प्रमुख कार्यकारी अधिकृत प्रदीप शाहले १० लाख माग गरेका कारण बबण्डर भएको बयानमा उल्लेख गरेका छन् । मेयर सुवेदी एमालेबाट निर्वाचित मेयर हुन् । उनी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् ।

‘बेलबारी नगरपालिकाको च.नं. ४०९७ मिति २०७८/०२/०६ को पत्रबाट भैरहवा भन्सारबाट बोका, बाख्रा ल्याउनको लागि ग्रो आर्गानिकको तर्फबाट प्रतिनिधिको रुपमा खटिइ सम्झौता र बाख्रा ल्याउने कार्य गरेको हुँ’, बयानको १ नम्बर बुँदामा भनिएको छ, ‘यी बोका र बाख्राहरू नवलपुरको कावासोतीस्थित केशर फर्मबाट ल्याएको हुँ । र, सो केशर फर्मलाई मेरो साथीको कम्पनीको बैंकको चेक दिएर भुक्तानी गरेको हुँ ।’

उनले भनेका छन्, ‘बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी र सुदीपकुमार चौधरीले पटक–पटक दवाव दिएपछि मैले केशर फमलाई साइन रेसुङगा डेभलपमेन्ट बैंकको रु. ४० लाखको चेक दिएको हुँ । हालसम्म सो चेक क्यास भएको छैन ।’

‘हालसम्म मेयर ज्ञानेन्द्र सुवेदी र सुदीपकुमार चौधरीले पैसा दिएका छैनन् । सो केशर फर्मले अर्को स्वसत्तिक फर्मलाई पनि चेक दिएको छ । सो चेक पनि क्यास भएको अवस्था छैन’, तामाङले बयानमा भनेका छन्, ‘मेरो जानकारी अनुसार बोका, बाख्रा केशर फर्मको नभई स्वसत्तिक फर्मको हो । केशर एग्रो फर्म र स्वसत्तिकलाई दुई ठाउँमा गरि बोका, बाख्रोका मूल्य रु.६५ लाख रहेको छ ।’

तामाङले भनेका छन्, ‘सम्झौतानुसार मैले बेलबारी नगरपालिकाले खटाएको ग्रो आर्गानिकको प्रतिनिधि भई बोयर जातका बोका, बाख्रा भैरहवा भन्सारदेखि बेलबारी नगरपालिकासम्म ल्याइ मिति २०७८÷०२÷१५ गते बेलबारी नगरपालिकाका मेयर श्री ज्ञानेन्द्रबहादुर सुवेदीको रोहबरमा बोका ५६ वटा र पाठी ३६ वटा गरि दुरुस्त रुपमा बुझाइ मेयर श्री ज्ञानेन्द्र सुवेदीले बुझाएकै स्थानमा सभा समेत गरि कृषकहरुलाई बुझाएको कार्यक्रममा समेत उपस्थित भएको छु । यसको भिडियो क्लिप कृषि टेलिभिजनमा रहेको अवगत गराउन चाहन्छु ।’

‘२०७८/०२/१५ गते बोका, बाख्राहरू बुझाइसकेपछि हामी ग्रो आर्गानिकका प्रतिनिधि सुदीपकुमार चौधरी र उत्तम गिरीको घरमा खाना खाई सोही दिन बेलुका ७:३० बजे मेयर ज्ञानेन्द्र सुवेदीको घरमा गई बिल भुक्तानीको विषय उठान गर्दा मेयर ज्ञानेन्द्र सुवेदीले हामी (सुदीपकुमार चौधरी र म)सँग मेरो लागि अग्रिम ३० लाख र प्रमुख कार्यकारी अधिकृत प्रदीप शाहको लागि १० लाख दिएमा मात्र भुक्तानी गरिन्छ अन्यथा भुक्तानी गरिँदैन भनि लेनदेन गर्न खोज्नुभएको थियो’, बयानमा तामाङले भनेका छन्, ‘त्यसपछि राति सोही दिन १० बजे उत्तम गिरीको घरमा सुदीपकुमार चौधरी र म सुत्न गयौँ ।’

‘२०७८/०२/१६ गते बिहान म र सुदीपकुमार चौधरीलाई मेयर ज्ञानेन्द्र सुवेदीको घरमा छोडी म काठमाडौं फर्किएको हुँ’, उनले भनेका छन्, ‘जेठ १६ गतेदेखि जेठ २० गतेसम्म मेयर ज्ञानेन्द्र सुवदी र सुदीपकुमार चौधरीबीच के के कुराकानी भयो मलाई थाहा छैन ।’

‘जेठ २१ गते बिहान ५ बजे हामीहरूबीच कुरा मिल्यो, तपाईले स्वसत्तिकको बिल लिई तुरुन्त बेलबारी आउनुस् भनि फोनबाट भनि सकेपछि म सोही दिन बेलबारीका लागि रमाना भएँ’, तामाङले भनेका छन्, ‘सोही दिन बेलुका ८ बजे मलाई सुदीपकुमार चौधरीजीले म मेयरको घरमा छु, यतै आउनुस् भन्नुभयो ।’

उनले भने, ‘म मेयर ज्ञानेन्द्र सुवेदीको बेलबारीस्थित घरमा पुगी सुदीपकुमार चौधरीजीलाई बिल दिन खोज्दा मेयर ज्ञानेन्द्र सुवेदी र सुदीपकुमार चौधरी मदिरा खाई लठ्ठ परि के को बिल ? भोलि गाईघाटमा जाने तेरो बिल उतै हेरिन्छ भनि मेयर ज्ञानेन्द्र सुवेदीले भनेपछि म त्यहाँबाट छुट्टिएर उत्तम गिरीको घरमा आई खाना खाएर सुतेको हुँ ।’

बयानमा तामाङले भनेका छन्, ‘जेठ २२ गते बिहान ६ बजे मलाई सुदीपकुमार चौधरीले फोनमा मेयरको घरमा आइज भनि बोलाउँदा म मेयरको घरमा गएँ । मेयर ज्ञानेन्द्र सुवेदी, सुदीपकुमार चौधरी, कमल कोइराला, म लगायतका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिकामा गयाँै ।’

‘त्रियुगाको हिमालय होटेलमा पहिला नै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी स्वागतको निम्ति बस्नु भएको थियो’, बयानमा भनिएको छ, ‘बोका बाख्राको भुक्तानीको विषयमा छलफलका लागि बसेको नभई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पहिला नै पत्र ड्राफ्ट तयार पारेका रहेछन् ।’

‘त्यो ड्राफ्ट हामी सबैलाई पढेर सुनाए । सुनाएको त्यस ड्राफ्टमा बोका, बाख्रासँग असंवन्धित व्यक्तिको नाम मुछि लेखिएको रहेछ र मलाई उक्त ड्रफ्टमा हस्ताक्षर गर्न बोलाइएको रहेछ’, बयानमा उल्लेख छ, ‘असंबन्धित व्यक्तिको नाम उल्लेख भएकोले मैले उक्त ड्रफ्टमा मैल हस्ताक्षर गर्न मानिन । त्यसपछि भुक्तानीको लागि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, सुदीपकुमार चौधरीले अबरोध खडा गरे ।’

तामाङले बयानमा भनेका छन्, ‘सो गतिविधिदेखि म दिक्क भई त्रियुगा नगरपालिकास्थित हिमालय होटेलबाट सोँझै काठमाडौं लागेँ । मैले लगेको बिलहरु लिन नमानेपछि मसँगै ती बिलहरु रह्यो ।’

‘म हिमालय होटेलबाट निस्कने बेलामा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले धम्कीपूर्ण भाषामा यो बाख्राको पैसा मागिस् भने र बेलबारीका नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई बाख्राको विषयमा कुरा गरिस् भने तँलाई बाँच्न गाह्रो हुन्छ भनि धम्की दिएका थिए’, बयानमा भनिएको छ, ‘मेरो शान्ति सुरक्षाका लागि पहल गरिदिनु हुन समिति समक्ष अनुरोध गर्दछु ।’

‘सुदीपकुमार चौधरीले बोका, बाख्रा ल्याउनका लागि भाडामा गाडी व्यवस्था गर्न लगाएको तर, हालसम्म गाडीको बिल समेत भुक्तानी नगरेको व्यहोरा छानविन समितिलाई जानकारी गराउँछु’, बयानमा उल्लेख छ ।

‘बोका, बाख्राको विषयमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रदीप शाह र सुदीपकुमार चौधरीबीच पहिलो मिटिङ २०७७/१२/१९ गते काठमाडौंमा बसेको थियो’, बयानमा भनिएको छ, ‘दोस्रो मिटिङ २०७७/१२/२० गते दोलखा जिल्लाको कालिञ्चोकमा बसी कम्पनी खोज्ने जिम्मेवारी सुदीपकुमार चौधरीलाई दिइएको र ठेक्का मिलाउने सम्पूर्ण जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत प्रदीप शाहलाई दिइएको थियो ।’

तामाङले भनेका छन्, ‘सोही मिटिङ मुताबिक सुदीपकुमार चौधरीले ग्रो आर्गानिक कम्पनी खोजी ल्याएको हो । र, आफ्नै नातेदार पर्ने गोविन्दकुमार रायलाई ग्रो आर्गानिक कम्पनीको प्रतिनिधि बनाइ सम्झौता गर्ने जिम्मेवारी दिइएको थियो ।’

‘गोविन्दकुमार राय भन्ने व्यक्ति सुदीपकुमार चौधरीको एसएनयु कम्पनीको कामदार हो’, बयानमा भनिएको छ, ‘सोही सम्झौता अनुसार बोका र बाख्राको व्यवस्थापन गर्नको लागि म र सुदीपकुमार चौधरी नवलपरासी जिल्ला र रुपन्देही जिल्लामा भएका केही बाख्रा फर्ममा अनुगमन गरेका थियौँ ।’

‘बेलबारी नगरपालिकालाई ठेक्का गरिएअनुसारको बोका र बाख्रा उपलब्ध गराइएको, १ करोड २४ लाखको बिल भुक्तानीको विषयमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ३० लाख आफूलाई र १० लाख प्रमुख कार्यकारी अधिकृत प्रदीप शाहलाई गरि जम्मा ४० लाख अग्रिम भुक्तानीको घुस रकम माग गरेको हुँदा यो भुक्तानी नभएका मेरो ठहर छ’, तामाङको लिखित बयानमा उल्लेख छ ।

‘यसरी घुस्याहा मेयरलाई त्यहाँका जनताले यही छानविन समितिमार्फत अनियमितता उजागर गरि मिलोमतो गर्ने बलेबारीका मेयर ज्ञानेन्द्र सुवेदी, उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र सुदीपकुमार चौधरीलाई छानविन गरि कारबाहीको दायरामा राखेर सत्य तथ्य बाहिर ल्याइ बेलबारी नगरपालिकाका जनताको पक्षमा तथ्यपूर्ण ब्यहोरा ल्याउने कार्यमा म सधैँभरि छानविन समितिलाई सहयोग गर्न चाहन्छु’, बयानमा तामाङले भनेका छन् ।

तामाङलाई बेलबारी नगरपालिकाले मिति २०७८/०२/०६ को च.नं. ४०९७ को पत्रमा प्रतिनिधि बनाएको छ । तामाङले छानविन समितिलाई दिएको लिखित बयानको बोधार्थ अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालय, ईटहरीलाई दिएका छन् । अख्तियारले पनि यो विषयमा छानविन गरिरहेको छ ।

के भन्छन् सुवेदी र शाह ?

बेलबारी नगरपालिकाका प्रमुख (मेयर) एवम् एवम् एमालेका नेता सुवेदीले विजय तामाङले छानविन समितिसमक्ष दिएको बयानका बारेमा आफूलाई कुनै जानकारी नरहेको प्रक्रिया दिएका छन् । उनले भने, ‘म काठमाडौंमा छु । विजय तामाङले दिएको बयानका बारेमा मलाई थाहा छैन । बुझ्न पाएको छैन । समितिले काम गरिरहेको छ । हेर्न पाएको छैन ।’

प्रमुख प्रशासकीय अधिकृत शाहले ठेकेदार कम्पनीलाई कारबाही गरेकाले काल्पनिक कथा बनाएर आक्षेप लगाएको बताएका छन् । उनले भने, ‘बयानमा मैले पैसा मागेको भनेको छैन । मेयरसावले मेरो लागि पनि मागिदिएको भन्नेछ ।’

शाहले भने, ‘यो विषय अख्तियारमा पनि छानविन भइरहेको छ । उनीहरूले काल्पनिक कथा बनाएर हालेको छ । पुष्ट्याइ गर्नुपर्छ । मेरो बदनाम गरेको हो । प्रमाणसहित पुष्ट्याइ भएपछि अख्तियारले मेरो हकमा निलम्बन गरिहाल्छ नि ।’

Published : Thursday, 2021 July 22, 1:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया