गृहमन्त्री भएपनि खाणले संस्कार भुलेनन्, यसरी स्मरण गरे वीपी–किशुनजी–गणेशमानलाई

बाडेगाउँ । गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले किशुनजीको आदर्श र मागदर्शनलाई आफूले सधैँ पछ्याइ रहने बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको बाडेगाउँस्थित किशुनजीको आश्रममा बुधबार बिहान आएर वृक्षा रोपण गरेर खाणले किशुनजी र वीपी कोइरालालाई स्मरण गरेको कांग्रेसका युवा नेता रामहरि खतिवडाले जानकारी दिए ।

३९औं वीपी स्मृति दिवसका अवसरमा खाणले किशुनजीको आश्रममा आएर वृक्षा रोपण गरेर कांग्रेसका शिखर पुरुषहरूको स्मरण गरेका हुन् ।

खाणले कांग्रेसका अग्रज र संस्थापक नेताहरू वीपी कोइराला, किशुनजी र गणेशमान सिंहको योगदानले नै मुलुकले प्रजातन्त्र पाएको बताए । उनले भने, ‘हाम्रा अग्रजले रोपिदिएको प्रजातन्त्रलाई हामीले जर्गेना गर्नुपर्छ ।’

खाणले भने, ‘किशुनजी, वीपी कोइराला र गणेशमान सिंहज्यू जस्ता पुरुषहरूको पार्टी नेपाली कांग्रेसका हामी कार्यकर्ता हौँ । उहाँहरूको आदर्श र मागदर्शनलाई पछ्याउन सक्यौँ भने देश र जनताको उन्नति हुन्छ ।’

गृहमन्त्री खाणले किशुन, वीपी र गणेशमानज्यूको साधारण जीवनबाट आफू निकै प्रभावित बनेको बताएको छन् ।

गृहमन्त्री खाणसँगै किशुनजीको आश्रममा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, कांग्रेस नेतृ मञ्जु खाणसहितका कांग्रेसका नेता कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।

गृहमन्त्री खाणलाई आश्रमको संरक्षण गर्दै आमिता कपालीले स्वागत गरेकी थिइन् । किशुनजीलाई अन्तिम समयसम्म कपालीले सेवा गरेकी थिइन् । किशुनजीको आश्रमलाई कपालीले संरक्षण गर्दै आएकी छिन् ।

कपालीले गृहमन्त्री खाणलाई किशुनजीको सादगी जीवन तथा राजनीतिलाई अनुसरण गरेर देश र जनतालाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरेकी छिन् ।

यसअघि, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मंगलबार किशुनजीको आश्रममा आएर माल्यापर्ण गरेका थिए ।

Published : Wednesday, 2021 July 21, 2:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया