सर्वोच्चको जिल पर्ने आदेशपछि के भन्छन् ओली ? बालुवाटारमा रुवाबासी

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रीहरूको पद फुस्काइदिएपछि प्रधानमन्त्री खड्गप्रसाद ओली तनावमा परेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि मंगलबार साँझ बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका हुन् ।

बालुवाटारमा मन्त्रीहरू मलिन अनुहार लगाएर बसेका थिए । ओलीमा पनि पहिलाको जस्तो चमक देखिएको थिएन । ओलीको अनुहारमा निरासा देखिएको एक पूर्व मन्त्रीले बताए ।

ओलीले सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको आरोप लगाएका छन् ।

अब अदालतले संसद पुनर्स्थापना गर्न सक्ने पनि प्रधानमन्त्री ओलीले आशंका गरेका छन् ।

सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् मंगलबार २० जना मन्त्रीको नियुक्ति बदर गरेपछि प्रधानमन्त्री ओली सर्वोच्च अदालतप्रति आक्रोशित बनेका हुन् ।

आफूले मधेसका नेताहरुलाई समेटेर संविधानअनुसार नै सरकार विस्तार गर्दा अदालतले रोक लगाइदिएको ओलीले गुनासो गरेका छन् ।

प्रधानमन्त्री ओलीले अदालतबाट पदमुक्त भएका सबै मन्त्रीहरूलाई बालुवाटार बोलाएका थिए ।

ओलीले पदमुक्त मन्त्रीहरूसँग कुरा गर्दै सर्वोच्च अदालतबाट नागरिकतासम्बन्धी अध्यादेश खारेज गरिदिएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

ओलीको भनाइ उदृत गर्दै पूर्व एक मन्त्रीले भने, ‘संसद पुनःस्थापना भयो भने देश कसरी अगाडि बढ्छ हेरौं, भएन भने पनि ५ जना मन्त्रीबाट चल्न गाह्रो छ ।’

Published : Tuesday, 2021 June 22, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया