मन्त्री फुत्किनुभन्दा दुई घण्टा अगाडि यी मन्त्रीलाई यस्तो भएको थियो

चन्द्रनिगाहपुर । रौतहत जिल्लामा नेपाल सरकारका खानेपानी तथा सरसफाइमन्त्री अनिलकुमार झाविरुद्ध प्रदर्शन भएको छ ।

मंगलबार मन्त्री झालाई कालोझण्डा देखाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता कार्यकर्ताले मन्त्री झालाई कालोझण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।

मन्त्री झा जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहमा छन् ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा–५ का विजय यादव र दीपेन्द्र यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी द्वारिका घिमिरेले जानकारी दिएका छन् ।

रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित सांसद नेता झा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका थिए ।

मन्त्री झालाई गरुडाको झाँझ पुल नजिकै केही युवा समूहले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।

सर्वोच्च अदालतले मंगलबार मन्त्री पद फुत्किाएकै बेला झालाई आफ्नै गृहजिल्ला रौतहटमा कालोझण्डाको सामना गर्नुपरेको छ ।

मन्त्री झाण्ड शक्ति देखाउन रौतहट आएका थिए । उनले फेसबुकमा गृहजिल्ला रौतहट आउन लागेको भनेर सूचना पनि दिएका थिए ।

Published : Tuesday, 2021 June 22, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया