ओलीका शक्तिशाली कमाण्डरले एमाले छाडे, सिन्धुपाल्चोकदेखि बालुवाटारसम्म सन्नाटा

काठमाडौं । सत्तारुढ एमालेको भ्रातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य सुरेनविक्रम योञ्जनले पार्टी परित्याग गरेका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको एमालेमा रहेर प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा ठूलो गतिविधि गरेका योञ्जनले सोमबार विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरेका हुन् । योञ्जनले आफूले पार्टी परित्याग गरेको जानकारी युवा संघ नेपाल र एमालेको जिल्ला कमिटी सिन्धुपाल्चोकलाई दिएका छन् ।

‘पार्टीका हजारौँ कार्यकर्ताको भावना विपरित अझै पनि खुलेआम विदेशी नेता र राष्ट्रको भक्ति गर्न नै लागेको अवस्था भएको, पार्टीका सबै संरचना केवल आफ्नो भजन मण्डली बनाउने बाहेक केही नभएको हुँदा आजैका मितिदेखि एमाले तथा सोसँग सम्बन्धित कुनै पनि निकायसँग मेरो संलग्नता नहुने र एमाले त्यागेको घोषणा गर्दछु’, योञ्जनले भनेका छन् ।

युवा नेता योञ्जनले एमाले पार्टी छाडेपछि सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म एमालेलाई ठूलो धक्का लागेको छ ।

‘सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका हुँदै जिल्लाका विभिन्न सामाजिक, राजनीतिक गतिविधिमा संलग्न हुँदै आउने क्रममा विगत केही समयदेखि म सुरेनविक्रम योञ्जन एमाले र पछि नेकपा तथा हाल एमालेको राजनीतिक दृष्टीकोणमा आवद्ध भै युवा संघ नेपालको केन्द्रीय कमिटीमा स्थायी समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्लाको ईञ्चार्जको रुपमा रहँदै आएको थिएँ’, उनले विज्ञप्तिमा भनेका छन् ।

‘एमालेको वर्तमान नेतृत्वमा रहनुभएका साथीहरूको उदेश्य केवल सत्ता प्राप्ती मात्रै हो रहेछ भन्ने आभाष पछिल्लो समयमा पार्टीभित्र देखिएको व्यक्तिगत कुण्ठाबाट प्रष्ट छ’, नेता योञ्जनले भनेका छन् ।

योञ्जनले विज्ञप्तिमा भनेका छन्, ‘सत्ता प्राप्ती र सत्तामा टिकिरहन जुनसुकैसँग सहमति गर्ने र त्यसका लागि कुनै राजनीतिक अडान लिन नसक्ने राजनीतिक दल नै एमाले हो भन्ने देखिएको छ ।’

‘राज्यका सबै संयन्त्र कब्जा गरि मुलुकलाई सदैब आफू केन्द्रित बनाउने कुटिल चालमा एमालेका नेताहरू लागेको, नागरिकताको विषयमा सत्ता प्राप्तीको भर्‍याङ बनाएको रहेछ भन्ने कुरा नागरिकता अध्यादेश, पछिल्लो मन्त्रिपरिषदको पुनर्गठनबाट देखिदैछ’, उनले भनेका छन् ।

नेता योञ्जनले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र अहिले बाढी पहिरोका कारण क्षत विक्षत रहेको भन्दै सहयोगका लागि अपील गरेका छन् ।

‘लाखौँ नेपाली दाजुभाईहरूको गास, बास र कपास समस्या रहेकोले जहाँ जे अवस्थामा सहयोग गर्न सकिन्छ सहयोग गर्न अपील गर्दै राहत व्यवस्थापनका लागि लाग्न अनुरोध गर्दछु’, योञ्जनले भनेका छन् ।

तत्कालीन समयमा कथित वाम गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटालाई जिताउन पनि योञ्जनको ठूलो भूमिका थियो ।

सिन्धुपाल्चोक जिल्लामा योञ्जनकै कमाण्डिङमा एमाले र माओवादीका नेताहरूलाई प्रतिनिधि सभामा जिताइएको थियो । एमाले पार्टीको हर्कतबाट दिक्क भएका योञ्जनले पार्टी परित्याग गरेर कम्युनिस्टहरूलाई चकित तुल्याइदिएका छन् ।

Published : Monday, 2021 June 21, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया