अन्तर्राष्ट्रिय उडानमा महँगो भाडा लिनेविरुद्ध एक्सनमा मन्त्री, लुटपाट समूहलाई कारबाही हुने

काठमाडौं । नियमित अन्तर्राष्ट्रिय हवाई उडानका क्रममा केही ट्राभल्स एजेन्सीहरूले मनपरी भाडा असुलेको बारे छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरिएको मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ को महामारी संक्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न गत वैशाख १९ गतेको मन्त्रिपरिषदको निर्णयानुसार सीमित अन्तर्राष्ट्रिय उडान भइरहेको अवस्थामा केही ट्राभल्स एजेन्सीहरूले तोकिएको भाडादरभन्दा चर्को भाडा असुलेको गुनासो आएपछि छानविनका लागि समिति गठन गरिएको हो ।

मन्त्रालयका सह–सचिव तथा प्रवक्ता तारानाथ अधिकारीले विज्ञप्ति जारी गरेर महानिर्देशक पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरिएको जानकारी दिएका छन् ।

छानविन समितिको सदस्यहरूमा पर्यटन मन्त्रालयकै उप–सचिव नरहरि घिमिरे, पर्यटन प्रहरीतर्फका प्रहरी निरीक्षक चन्द्रकिशोर साह, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देबचन्द्रलाल कर्ण र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल रहेका छन् ।

समितिले भाडा असुलीबारे अनुसन्धान तथा आवश्यक छानवि गरी कानूनी कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गर्नेछ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को तर्फबाट पर्यटन मन्त्री बनेपछि उमाशंकर अरगरियाले सुधारका कामहरू गर्न थालेका छन् ।

ट्राभल्स एजेन्सीहरूले बलजफ्ती जहाजको टिकटमा महँगो लिएर लुटपाट थालेपछि छानिवन गर्न समिति बनाएका हुन् ।

टिकटमा महँगो भाडा लिएर लुटपाट गर्ने गिरोहलाई मन्त्री अरगरियाले छुट नदिने संकेत गरेका छन् ।

Published : Monday, 2021 June 21, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया