कांग्रेसको खेलकुद विभागले खेलाडी–प्रशिक्षकलाई काठमाडौंमा दश बेडको उपचार केन्द्र बनाइदिने

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागले राष्ट्रिय खेलकुद परिषदको हाताभित्र अक्सिजनसहित १० बेड राखेर कोरोना उपचार केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुख मोहनबहादुर बस्नेतले सोमबार विज्ञप्ति जारी गरेर खेलाडी र प्रशिक्षकहरूलाई सहयोग पु¥याउने काम यथाशीघ्र सञ्चालनमा ल्याइने बताएका छन् ।

‘राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरूको मनोवल उच्च राख्न र थोरै भएपनि उपचार पद्धतिमा सहज बनाउने उदेश्यले खेलाडीहरूको आवश्यक्ता र खेलप्रेमीहरूको चाहनालाई ध्यानमा राखी नेपाली कांग्रेस खेलकुद विभाग र लोकतान्त्रिक खेलकुद संघको संयुक्त प्रयासमा त्रिपुरेश्वरस्थित खेलकुद परिषदकै हाताभित्र अक्सिजनसहित १० बेड राखेर कोरोना उपचार केन्द्र स्थापना गर खेलाडी र प्रशिक्षकहरूलाई सहयोग पुर्‍याउने काम यथाशीघ्र सञ्चालनमा ल्याइने कुरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु’, विभागका प्रमुख बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो चरणको कोरोनाको लहर अत्यन्तै डरलाग्दो अवस्थामा रहेको भन्दै खेलाडी र प्रशिक्षकहरूलाई कोरोना संक्रमणबाट बचाउन तथा उपचारमा सहयोग पुर्‍याउने उदेश्यले उपचार केन्द्र बनाउन लागेको विज्ञप्तिमा जनाइएको छ ।

खेलकुद विभागका प्रमुख बस्नेतले यसअघि १३औँ साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान र पुरस्कृत गरेका थिए ।

टोकियो २०२० ओलम्पिक छनौट भएका खेलाडी तथा प्रशिक्षकहरूको कोरोना बीमा पनि कांग्रेसको खेलकुद विभागले गरेको थियो ।

कोरोनाका बेला उपचारमा रगत अभाव नहोस् भनेर खेलकुद विभागले ३५ जिल्लामा रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो ।

Published : Monday, 2021 June 7, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया