अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रलाई पोखरेलको निर्देशन

काठमाडौं । उप–प्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरूमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारमा पोखरेलले उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग अक्सिजन ग्यास सहज रुपमा आपूर्ति गर्न आग्रह गरेका हुन् ।

अक्सिजन उद्योगहरूलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।

‘अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय बैठकले गरेको छ’, उप–प्रधानमन्त्री पोखरेलको भनाइ उदृत गर्दै पाण्डेले भने, ‘अक्सिजन सिलिण्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरू, अस्पतालबीच समन्वय गर्ने निर्णय भएको छ ।’

छिटो माध्यमबाट अक्सिजन प्लान्ट गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय पनि भएको छ ।

निजी क्षेत्रका ठूला अस्पतालहरूमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा अहिलेको समस्या आइपरेको छ ।

काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योगहरू छन् ।

१५ हजार लिटरभन्दा बढी माग भए पनि अहिले ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता रहेको छ ।

निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पतालहरू यिनै उद्योगमा निर्भर हुनुपर्ने अबस्था छ ।

सीसीएमसीका संयोजक समेत रहेका उप–प्रधानमन्त्री पोखरेलले संकटको अबस्था रहेकाले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।

‘महामारीसँग जुध्नका लागि राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ’, पोखरेलले भने, ‘संकटको बेला भ्रमको खेतीहरू गर्ने पनि छन्, त्यस्तोबाट सचेत पनि हुनुपर्छ ।’

सीसीएमसीले अक्सिजन ग्यासको विद्यमान समस्या समाधान गर्ने उद्देश्यले बिभिन्न प्रयासहरू गरेको छ ।

काठमाडौं उपत्यका र बनेपामा रहेका उद्योगहरूको अनुगमन गरी विवरण संकलन तथा समस्या र सम्भावना समेतको समिक्षा गरिएको छ भने सबै उद्योगहरुमा सुरक्षाकर्मी खटाइएको छ ।

सरकारले अक्सिजन उद्योगको क्षमता बृद्धि र मर्मत कार्यमा सहजीकरण तथा सहयोग समेत गर्ने भएको छ ।

Published : Tuesday, 2021 May 11, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया