कोरोनाका बेला पत्रकार निकाल्न थालेपछि मालिकहरूलाई महासंघले सचेत गरायो

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोनाको बहानामा केही सञ्चारमाध्यमहरूले सञ्चारकर्मीहरूलाई निश्कासन गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष विपुल पोखरेलले संकटका बेला सञ्चारकर्मीहरूलाई सञ्चारगृहले सक्दो सेवा सुविधा दिएर काममा लगाउनुको साटो कामबाटै निश्कासन गर्ने कार्य गरिएको भन्दै चिन्ता जनाए । उनले सरकारलाई सञ्चारकर्मीहरूको पेसागत सुरक्षा र कोरोनाबाट पर्न गएको समस्यालाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

‘कोही पनि संचारकर्मीलाई कामबाट निश्कासन नगर्न, सुबिधामा कटौति नगर्न, पत्रकारले पाउनुपर्ने बक्यौता रकम अविलम्ब उपलब्ध गराउन, सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्याहरु तत्काल समाधान गर्न सञ्चार प्रतिष्ठान र सरकारको ध्यानाकर्षण गराउने तथा स्वास्थ्य सजगताका लागि आवश्यक प्रबन्ध मिलाउन संचारसंस्थालाई आग्रह गर्दछौँ’, महासंघको केन्द्रीय कार्यसमितिको बैठकपछि मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई कोरोनाविरुद्धको लडाइका ‘फ्रण्टलाइनर’ घोषित गरी उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न, पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बीमा र इन्टरनेट सुबिधाको व्यवस्था गर्न राज्यको ध्यानाकर्षण गराउँदछौँ ।’

महासंघले नेपाल सरकारको आगामी बजेटमा कोरोना संक्रमणबाट पीडित सञ्चारकर्मी र संकटग्रस्त संचारसंस्थाका लागि फरक–फरक राहत प्याकेजको व्यवस्था गरी घोषणा गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिदैँ आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई यो बैठक आग्रह गर्दछ ।’

‘स्वास्थ्य सेवा सुलभ र सहज रुपमा पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्दै कोरोना संक्रमणको परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन तथा अस्पतालको उपलब्धतालाई सुनिश्चित गर्नका लागि पनि सरकारलाई ध्यानाकर्षण गराउँदछ’, महासंघले भनेको छ ।

महासंघले स्वास्थ्य सामग्री, औषधिको कृत्रिम अभाव देखाइ चर्को मूल्य लिइरहेको, एम्बुलेन्स, हेलिकोप्टरसहितका यातायातका साधनले पनि मनोमानी रुपमा बिरामीसंग रकम लिइरहेको भन्ने गुनासो अत्यधिक रुपमा सुनिदै आएको भन्दै त्यस सम्बन्धमा आवश्यक नियमनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस काउन्सिलले पत्रपत्रिकाको मूल्यांकन गर्ने क्रममा हाल कोरोना संकटले पत्रपत्रिकाको प्रकाशनमा पारेको असरलाई ध्यान दिदैँ व्यवहारिक ढंगले निर्णय प्रक्रियालाई अगाडि बढाउन काउन्सिललाई महासंघले आग्रह गरेको छ ।

लोककल्याणकारी बिज्ञापनवापतको रकम निकासा प्रक्रियालाई सहज बनाउन र बिभिन्न बहानामा रोकिएको रकम तत्काल भुक्तानी गर्न सूचना तथा प्रसारण विभागलाई आग्रह गर्ने निर्णय भएको अध्यक्ष पोखरेलले बताएका छन् ।

महासंघले कोरोनाका कारण मृत्यु भएका ९ जना पत्रकारसहित सबै मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

Published : Tuesday, 2021 May 11, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया