देउवा–दाहालबीच गोप्य वार्ता, ओली झन् झस्किए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री केपी ओलीको विश्वासको मतका विषयमा गम्भीर वार्ता भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार मध्यान्ह देउवा र दाहालबीच गोप्य छलफल भएको हो । छलफलमा ओलीविरुद्ध मोर्चा कसरी बलियो बनाएर जानेबारेमा सम्वाद भएको छ ।

वार्तापछि पत्रकारसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले आफूहरूले बहुमतको सरकार दाबी गर्ने तयारी गरिरहेको बताए । पुनले आफूहरूले अब बहुमतको सरकार बनाउने गरी दाबी प्रस्तुत गर्ने बताए ।

उनले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने गरी तयारी गरिएको बताए ।

देउवा र दाहालसँगको छलफलमा माओवादीबाट नेता पुन र कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए ।

खाणले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट बहुमत नपाउने बताए । प्रधानमन्त्रीले बहुमत नपाएपछि राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गर्ने खाणको विश्वास छ । ‘त्यसपछिका गतिविधिबारे कांग्रेसले अन्य दलसँग छलफल गर्दै जान्छ’, उनले भने ।

कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने जनाइसकेका छन् । ओलीले विश्वासको मत नपाउँदा कांग्रेसको नेतृत्वमा सरकार कसरी बनाउनेभन्नेबारेमा छलफल भएको छ ।

एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले सांसदबाट सामूहिक राजीनामा नदिने तर, ओलीलाई विश्वासको मत पनि नदिने निर्णय गरेपछि नयाँ मोड आएको छ ।

ओलीलाई साइजमा ल्याउन नेपाल समूहले नयाँ रणनीति अपनाएको छ । नेपालको नयाँ रणनीतिलाई सबैले रुचाएका छन् ।

Published : Monday, 2021 May 10, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया