कांग्रेसको सरकार आयो भने खोपमा कमिशन खाने ओली र कम्युनिस्टसँग हिसाब लिन्छौँः तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले प्रधानमन्त्री खड्गप्रसाद ओली निकटका व्यापारीहरूले देश र जनतालाई लज्जित बनाएको टिप्पणी गरेका छन् ।

नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका तिमिल्सिनाले कोरोना महामारीका बेला कोरोनाविरुद्धको भ्याक्सिनमा कमिशन मागेर जनतामाथि अपराध गरेको बताए । उनले कोरोनाको भ्याक्सिन समयमा आउन नदिएर अपराध गर्नेहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

‘कमिशन नमिलेकै कारण प्रधानमन्त्री खड्गप्रसाद ओलीनिकट व्यवसायीहरू विजय दुगड, सुरज वैद्य र ऋतु वैद्यहरूले कोरोनाविरुद्धको भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ’, युवा नेता तिमिल्सिनाले भनेका छन् ।

‘महामारको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका ?’, प्रश्न गर्दै उनले भने, ‘पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरि प्रधानमन्त्री निकटको ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो ।’

उनले भने, ‘देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीहरूले जनस्वास्थ्यमाथि गरेको यति ठूलो अपराध र बेइमानी कदापी क्षम्य हुन सक्दैन ।’

‘यसको सबै जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन् ।’

ओलीले व्यवसायी सुरज बैद्यलाई पर्यटन वर्षको दूत समेत बनाएका थिए । कोरोना महामारीका बेला सरकारमा बसेकाहरू स्वास्थ्य सामग्री खरिद, औषधि र खोप खरिदमा कमिशनका कारण जनताको जीवनमाथि खेलवाड गरेपछि कांग्रेसका युवा नेता तिमिल्सिनाले कम्युनिस्टहरूसँग भ्रष्टाचारको हिसाब किताब माग्ने भनेर चेतावनी दिएका हुन् ।

Published : Sunday, 2021 May 9, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया