ओलीद्वारा राष्ट्रपतिका सचिव र कम्यनिस्ट नेताकी बुहारीलाई अख्तियारमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्रपति कार्यालय शीतल निवासका सचिव हरि पौडेललाई आयुक्तमा सिफारिस गरेका छन् ।

आइतबार बालुवाटारमा बसेका संवैधानिक परिषदको बैठकबाट ओलीले सचिव पौडेललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

ओलीले कम्युनिस्ट नेता स्व.तुलसीलाल अमात्यकी बुहारीलाई सुमित्रा अमात्यलाई पनि अख्तियारको आयुक्तमा सिफारिस गरेका छन् ।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको दवावमा ओलीले सचिव पौडेललाई अख्तियारको आयुक्तमा सिफारिस गरेका हुन् ।

अमात्य राष्ट्रिय योजना आयोगको पूर्व सदस्य समेत हुन् । अमात्य काठमाडौं महानगरपालिकाको फोहोर मैला व्यवस्थापन विभागको प्रमुख समेत थिइन् ।

अख्तियारको प्रमुख आयुक्तिमा प्रेम राईलाई ओलीले नियुक्त गरेपछि तत्कालीन आयुक्त गणेशराज जोशीले राजीनामा दिएका थिए । जोशीभन्दा राई जुनियर हुन् । आफूभन्दा जुनियरलाई प्रमुख आयुक्त बनाएपछि ओलीसँग रिसाएर जोशीले राजीनामा दिएका थिए ।

आयुक्त सावित्री गुरुङको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

दुबै जनाको नाम संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पठाइनेछ । संसदीय सुनुवाई विशेष समितिमा सुनुवाईपछि उनीहरूलाई आयुक्तमा राष्ट्रपतिद्वारा नियुक्त गरिनेछ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिषदको बैठक बहिूकार गरेका थिए । ओलीले संविधान विपरित बैठक सञ्चालन कार्यविधि अध्यादेशबाट संशोधन गरेपछि देउवाले अ‍ोलीको बैठक बहिस्कार गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि ओलीले बोलाएको परिषदको बैठक बहिस्कार गरेका थिए । ओलीले बहुमतको आधारमा परिषदबाट निर्णय गराएका छन् ।

Published : Sunday, 2021 May 9, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया