प्रहरी अस्पतालमा यसरी हुँदैछ कोरोनाका २२४ बिरामीको उपचार

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा हाल २ सय २४ जना कोभिड–१९ बाट संक्रमित बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ ।

तीमध्ये २० जना भेन्टिलेटरमा, १९ जना आईसियुमा, मध्यम अवस्थाका १ सय ५ जना र सामान्य अवस्थाका ८० जना रहेका छन् ।

बिरामीहरूमध्ये प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ४३ जना तथा ८१ जना सर्वसाधारण नागरिक रहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बिरामीहरूमध्ये आइतबार उपचारका लागि अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी ६ जनालाई भर्ना गरिएको छ ।

उपचाररतमध्ये १४ जना डिस्चार्ज भएका छन् । ८७ वर्षीय र ६६ वर्षीय गरी २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपाल प्रहरी अस्पतालमा जम्मा २ सय ६४ वेड उपलब्ध छन् । तीमध्ये १ सय ६१ साधारण, ७३ एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् ।

कोभिड–१९ बाट संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन स्रोतको व्यवस्था समेत गरी अनवरत सेवा प्रदान गर्दै आइरहेको छ ।

सो क्रममा हाल कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्थालाई मध्येनजर राखी ईमर्जेन्सीमा अस्थाई रुपमा २६ बेड थप गरी अक्सिजन सहित उपचार प्रदान गरिएको छ ।

बेड खाली हुनासाथ उनीहरूलाई स्थान्तरण गरी उपचार गरिने व्यवस्था मिलाइएको छ ।

Published : Sunday, 2021 May 9, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया