प्रहरीद्वारा प्रदेश २ मा ७ सय थान अक्सिजन सिलिण्डर नियन्त्रण

जनकपुर । २ नम्बर प्रदेश प्रहरीको कार्यालय जनकपुरको निर्देशन र पहलमा विभिन्न स्थानहरूमा छापामारेर ७ सय थान अक्सिजन ग्यासका सिलिण्डरहरू बरामद भएको छ ।

प्रदेश प्रहरी प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले विभिन्न जिल्ला र स्थानहरूमा छापामारेर बरामद गरिएका अक्सिजन ग्यासका सिलिण्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक प्लान्टहरूलाई वितरण गरिएको जानकारी दिए ।

नयाँ भेरियन्टको कोरोनाभाइरसका कारण सर्वसाधारणले उपचारमा अक्सिनज अभाव भएर समस्या भोगिरहेका बेला २ नं. प्रदेश प्रहरीले लुकाएर राखिएका अक्सिजन सिलिण्डरहरू नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाएको हो ।

स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले २ नं. प्रदेशअन्तर्गतका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरूमा स्टक गरी राखेको अक्सिजन सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अक्सिजन ग्यासले भरिएका १३२ र खाली ५६८ वटा गरी जम्मा ७०० वटा अक्सिजन सिलिन्डर बरामद गरिएको डीआईजी सिंहले बताए ।

डीआईजी सिंहले कोरोना महामारीका बेला अक्सिजन सिलिण्डरहरू स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न आग्रह गरेका छन् ।

महामारीका बेला अक्सिजन सिलिण्डरहरू जथाभावी तवरबाट स्टक गरेको भेटिए कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2021 May 9, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया