लुम्बिनीमा एमालेको दिनदशा विग्रियो, सुरक्षित रहेन पोखरेलको मुख्यमन्त्री पद

बुटवल । जालझेल गरेर मुख्यमन्त्री बनेको आरोप खेप्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विपक्षी दलहरूले विशेष अधिवेशन माग गरिएको छ ।

आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई भेट गरी अविश्वासको प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

यसअघि वैशाख ६ गते र आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलहरूले माग गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

चार दलको टोलीले प्रदेश प्रमुख कार्यालयका सचिव चिरन्जिवी पौडेललाई समावेदन पत्र बुझाएको हो ।

संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन पत्र बुझाइएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना महामारीको कारण देखाउँदै नभेट्ने बताएपछि सचिवलाई निवेदन बुझाइएको घर्तीले बताए ।

Published : Sunday, 2021 May 9, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया