अक्सिजन तत्काल आपूर्ति गर्न डा.महतको माग, सम्वेदनशील बन्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले अक्सिजनको आपूर्ति तत्काल गर्न माग गर्दै कृतिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्न सरकारलाई दवाव दिएका छन् ।

शनिबार डा. महतले विज्ञप्ति जारी गरेर अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न ओली सरकारसँग माग गरेका हुन् ।

उनले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न ध्यानकर्षण गराएका छन् ।

‘कोभिड–१९ का बिरामीहरू अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका समाचारहरू काठमाडौं उपत्यका लगायत देशभरिबाट आइरहेका छन्’, डा. महतले भने, ‘अर्कोतिर काठमाडौं उपत्यकाका धेरै अस्पतालहरूमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ ।’

‘यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीहरूले अक्सिजन नपाउने अवस्था सृजना भएको छ’, उनले भनेका छन् ।

‘यस्तो समस्या देशका अन्य भागहरूबाट पनि आउन थालेका छन्’, उनले भने, ‘काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरूले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का बिरामीहरूलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन् ।’

सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा. महतको आरोप छ ।

उनले भने, ‘सरकार संक्रमितहरूको आवश्यकता अनुसार न अस्पतालहरूको थप व्यवस्था गर्न सकिरहेको छ न अक्सिजनको समुचित आपूर्ति सकेको छ ।’

नेपाली कांग्रेस आवश्यकतानुसार सरकारसँग देशका विभिन्न ठाउँहरूमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरूको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न पनि महतले माग गरेका छन् ।

Published : Saturday, 2021 May 8, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया