सांसद अपहरणको आरोप खेपीसकेका महेश बस्नेतको अर्को उट्पट्याङ गतिविधि

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले फागुन २८ गतेपछिको निर्णयहरू सुधार गरेर जाने पक्षमा रहेको नेता महेश बस्नेतले बताएका छन् ।

‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा नेता बस्नेतले माधव नेपाल समूहलाई मिलाएर लैजानका लागि फागुन २८ गतेको निर्णय संशोधन हुने बताए । नेता बस्नेतका अनुसार ओली झुकेर भएपनि नेपाल समूहलाई सहमतिमा ल्याएर विश्वासको मत लिने पक्षमा रहेका छन् ।

‘माधव नेपाल समूह ०७५ जेठ २ को अवस्थामा पुग्नुपर्ने भन्नुभएको छ । फागुन २८ को निर्णयमा संशोधन हुनुपर्छ भन्नुभएको छ । पदाधिकारी कायम राख्ने भनेका छन्’, बस्नेतले भने, ‘यो विषयमा सहमति बन्ने सम्भावना छ ।’

नेता बस्नेतले भीम रावलको अतिवादीधारले मिल्न नदिने पक्षमा देखिएको आरोप लगाएका छन् ।

योगेश भट्टराई, गणेश पहाडी, नारायण खतिवडा, हीरा केसी, समिना हुसेन, गंगा चौधरीहरू पार्टी एकीकरणको पक्षमा आफ्नो मत जनाइसकेको बस्नेतले बताएका छन् ।

एमालेका नेता बस्नेतले जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दाबी गरेका छन् ।

‘उपेन्द्र यादव बहुमतमा भएको भए औपचारिक बैठक डाकेर महागठबन्धन बनाउने थिए । उपेन्द्र यादव र बाबुराम भट्टराईको बहुमत छैन’, उनले भने, ‘महन्थ ठाकुर र राजेन्द्र महतोको जसपामा बहुमत छ ।’

‘उपेन्द्र यादवलाई २२ प्रतिशत पनि पुग्दैन । उपेन्द्रसँग जोडिएका धेरै सांसदहरू उहाँसँग छैनन् । बिगतमा पार्टी फुटाउन खोजेकाहरूले उपेन्द्र यादवलाई छाडेका छन्’, एमालेका नेता बस्नेतले भनेका छन् ।

‘जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ । जसपाको निर्णयपछि उपेन्द्र यादव र बाबुराम भट्टराईले विद्रोह गर्ने सम्भावना छ । उनीहरूले पार्टी वैधानिकता दिन सक्दैनन्’, उनले भनेका छन् ।

एमालेका नेता बस्नेतले जसपाभित्रको आन्तरिक विषयमा जथाभावी बोलेर राजनीतिक आचरण उल्लंघन गरेका छन् ।

उपेन्द्र यादवकै तत्कालीन समाजवादी पार्टीका सांसदलाई अपहरणको आरोप लागेका एमालेका नेता बस्नेत पार्टीभित्र विवादित मानिन्छन् ।

बस्नेतलाई ओलीले छोरासरहको व्यवहार गर्छन् । ओलीलाई बस्नेतले ‘बा’ भनेर सम्बोधन गर्ने गर्छन् । अरुको दलभित्रको आन्तरिक विवाद र विभाजन हुने अभिव्यक्तिसहितका गतिविधि गरेर बस्नेत आलोचित हुन पुगेका छन् । उनको सामाजिक सञ्जालमा आलोचना समेत भएको छ ।

माधव नेपाल, भीम रावल, घनश्याम भुसालहरूले राजीनामा दिने तहका कुरा गरेको भन्दै बस्नेतले त्यो आत्मघाती कदम नउठाउन सुझाव दिएका छन् । उनले भने, ‘माधवजीहरूले जस्तै उपेन्द्र यादव र बाबुराम भट्टराईले पनि राजीनामा दिन सक्छन् । २१ जना एमालेका सांसदले राजीनामा दिने तहमा कुरा पुग्दैन उपेन्द्र यादवहरू ।’

एमालेका नेता बस्नेतले माधव नेपालको राजनीति संकटपूर्ण अवस्थामा रहेको दाबी गरेका छन् । उनले भने, ‘प्रचण्डको भविष्य सक्किएको छ । भविष्य सक्किएको नेता प्रचण्ड हो ।’

Published : Friday, 2021 May 7, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया