चार्टर्ड उडानबाट कम्युनिस्ट सरकारले बिचौलियालाई मोटो बानाउने, मजदुरहरूको दिन गयो

काठमाडौं । खड्गप्रसाद ओलीको कम्युनिस्ट सरकारले कोरोना महामारीको बहानामा अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेर बिचौलियाहरूलाई पोस्न लागेको भन्दै आलोचना भएको छ ।

बिहीबार मध्यरातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान स्थगन हुँदैछ । सरकारले चार्टर्ड उडानहरूलाई चलाउने निर्णय गरेको छ । चार्टर्ड उडानबाट सबैभन्दा धेरै नेपाली मजदुरहरू पर्ने पक्का छ ।

अन्तर्राष्ट्रिय उडानहरू स्थगन हुनेवित्तिकै सबैभन्दा ठूलो समस्या वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई हुनेछ ।

वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा बसेका नेपाली कामदारहरूसँग चार्टर्ड उडानको बहानामा मोटो रकम असुल्ने तयारी भएको नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य एवम् वैदेशिक रोजगारका वरिष्ठ व्यवसायी विमल ढकालले बताएका छन् ।

‘वैदेशिक रोजगारीमा जान लागेका हजारौँ नेपाली मजदुरहरूलाई अन्तर्राष्ट्रिय उडान बन्द हुनेवित्तिकै असर पर्नेछ’, ढकालले भने, ‘नेपाली कामदारहरूसँग चार्टर्ड उडानको बहानामा मोटो रकम असुलेर शोषण हुनेछ ।’

ट्राभर्ल्स एजेन्सी र बिचौलियाहरूको दवावमा सरकारले अन्तर्राष्ट्रिय उडान रोकेको उनको आरोप छ ।

पीसीआर परीक्षणको रिपोर्ट हेरेर स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडानहरू चलाउनुपर्ने ढकालको सुझाव छ ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरूप देशबीच सातामा दुई उडान कायम राख्ने सहमति भएको छ ।

सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ ।

भारतबाट आउनेलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम जस्तै अन्तर्राष्ट्रिय उडानबाट आउनेलाई पनि सोही प्रावधान किन नगरेको भनेर प्रश्न उठेको छ ।

एक वर्ष अगाडि कोरोना महामारीका बेला पनि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो । लकडाउनका बेला चार्टर्ड उडानका बहानामा लाखौँ रुपियाँ घोटाला भएको थियो । नेपाली मजदुरहरूसँग चर्को रकम असुलिएको थियो ।

एक वर्ष अगाडिको त्यही काण्ड फेरि बिचौलियाहरूले दोहोर्‍याउन सफल भएका छन् । बिचौलियाहरूलाई कमाइ गर्ने धन्दा स्वरुप चार्टर्ड उडानको अनुमति दिएर सरकारले ठूलो गल्ती गरेको आरोप छ । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई चार्टर्ड उडानमा मुछिएर बद्नामी कमाएका थिए ।

मन्त्रिपरिषदको वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो । यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

Published : Thursday, 2021 May 6, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया