ओलीको कुर्सी फुत्किन थालेपछि शीतलनिवासको टाउको दुख्यो, एमाले मिलाउन सक्रिय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदीय जिम्मेवारी भुलेर राजनीतिक गतिविधि गरेको भन्दै आलोचना भइरहेका बेला एमालेभित्रको विवाद मिलाउन सक्रियता देखाएकी छिन् ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली चारैतिरबाट एक्लिएर संकटमा परेका बेला भण्डारीले आफूलाई सक्रिय बनाएकी छिन् । भण्डारीले एमालेका वरिष्ठ नेता माधव नेपाललाई बुधबार साँझ आफ्नै शीतल निवासमा बोलाएर भेट गरेकी छिन् ।

भेटमा के–के कुराकानी भएको थियो भण्डारीको निजी सचिवालयले केही भनेको छैन । नेता नेपालले पनि केही भनेका छैनन् ।

बुधबार ओलीसँग दुई पटक भेट गरेकी भण्डारीले नेता नेपाललाई भेट गर्नुलाई एमालेभित्रको विवाद मिलाउने विषयमा पहल गरेको भनेर टिकाटिप्पणी भएको छ ।

ओलीले वैशाख २७ गते विश्वासको मत लिँदै छैन । ओलीलाई विश्वासको मत प्राप्त हुने सम्भावना निकै कम छ । ओलीको निरंकुशताका कारण उनकै पार्टी एमालेका सांसदहरूले विश्वासको मत दिने सम्भावना झिनो छ ।

नेपाली कांग्रेससहितका दलहरूले ओलीलाई विश्वासको मन नदिने बताइसकेका छन् । यस्तो अवस्थामा ओली संकटमा परेका छन् ।

संकटमा परेका ओलीको प्रधानमन्त्रीको कुर्सी बचाउन भण्डारीले पदीय हैसियत भुलेर एमालेको आन्तरिक विवाद मिलाउन सक्रिय भएको भनेर आलोचना भएको छ ।

भण्डारीले यसअघि पनि नेकपाको विवाद मिलाउन आफूलाई सक्रिय बनाएकी थिइन । उनले केही समय अगाडि एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई डल्लुस्थित निवासमै पुगेर भेट गरेकी थिइन् ।

Published : Thursday, 2021 May 6, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया