कोरोनाका बिरामीको उपचारमा एमालेको सरकार असंवेदनशील बन्योः कांग्रेस नेता श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसको संगठन विभागले एमाले नेतृत्वमा रहेको ओली सरकारको चरम लापरवाही, गैरजिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यको विरोध गरेको छ ।

विभागका प्रमुख एवम् पूर्वमन्त्री गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरेर ओली सरकारका कारण देशको राजनीति अनिश्चित बनेको बताएका छन् । उनले देश अन्योल र संकटग्रस्त देखिएको भन्दै कोरोना महामारीको दोश्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको आरोप लगाएका छन् ।

‘सरकार यस महामारीविरुद्धको लडाइँलाई प्रभावकारी बनाउनुको साटो सत्ताको झिनाझपट मै अलमलिएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विधमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतामा ढाडस होइन सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीबाट भाग्ने प्रयास गर्दैछ ।’

‘बढदो संक्रमण नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहवीच समन्वय गरि आईसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल भएको छ’, प्रमुख श्रेष्ठले भनेका छन् ।

‘दिनप्रति दिन वृद्धि भैरहेका संक्रमितहरूको उपचारका लागि आवश्यक अस्पताल वेड, आइसु वेड, भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार, अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न समेत सरकार असफल देखिन्छ’, उनले भनेका छन् ।

कोरोना महामारीको मौका छोपेर वजारमा आवश्यक बस्तुहरूको अभाव शृजना गरि मूल्य वृद्धि र कालाबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहल कदमी लिन नसकेको देखिन्छ ।’

‘कोभिड १९ महामारीका नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण सम्पूर्ण व्यापार, व्यवसाय बन्दको अवस्थामा छन्’, विभागका प्रमुख श्रेष्ठले भनेका छन्, ‘लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गर्दै संकटको यस वेला कोभिड–१९ महामारीविरुद्ध एकवद्ध भै लड्न नेपाली कांग्रेसका सबै तह र तप्काका साथीहरूलाई संक्रमितहरूको पहिचान , उपचार र व्यवस्थापनमा खटिन हार्दिक आव्हान गर्दछु ।’

‘स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नुपरेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल, सभाहल, रंगशालालाई क्वारेन्टाइन, आइसोलेसन केन्द्र र होडिङ्ग सेन्टरको रुपमा उपयोग गर्ने कार्यमा अगुवाइ गर्न तथा आवश्यकता अनुसार पार्टीकै संरचनालाई समेत सो कार्यको प्रयोजनका लागि उपयोग गर्न आवश्यक पहलकदमी गर्न समेत आग्रह गर्दछु’, श्रेष्ठले भनेका छन् ।

Published : Thursday, 2021 May 6, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया