ओलीले बालुवाटार र शीतलनिवासबाट उत्पात मच्चाउन थालेपछि खतिवडाले सचेत गराए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले निर्वाचनमा ठूला गफ दिएर झण्डै दुईतिहाइ बहुमत पाएका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले काम गर्न नसकेपछि आलोचना गरेका छन् ।

ओलीले जनता समक्ष निर्वाचनमा गरेका प्रतिवद्धताहरू पूरा गर्नुपर्ने खतिवडाले जनाएका हुन् ।

निर्वाचनका बेला ओलीले समृद्धि, पानीजहाज, रेल, घरघरमा पाइपबाट खाना पकाउने ग्यासलगायतका झुठ बोलेर वाम गठबन्धनका नाममा झण्डै दुईतिहाइ बहुमत पाएका थिए । ओलीले त्यस बेला राजनीतिक स्थायित्वको भनेर मत मागेका थिए ।

अहिले आएर जनताले दिएको झण्डै दुईतिहाइको बहुमतलाई ओलीले लात्तिले हानेर भताभुङ्ग बनाएर नाङ्गिएपछि संसद बोलाइसकेको अवस्थामा अध्यादेशबाट देश चलाउन खोजेपछि कांग्रेस नेता खतिवडाले विरोध जनाएका हुन् ।

‘आज फेरि अर्को अध्यादेश जारी भयो रे ?’, बुधबार ट्वीटमार्फत व्याङ्ग्य गर्दै खतिवडाले भनेका छन्, ‘अब प्रधानमन्त्रीले पानीजहाज र रेल अध्यादेशबाटै ल्याउने भए !’

प्रतिनिधि सभाको बैठक वैशाख २७ गते बस्न लागेको छ । बैठक बस्नुभन्दा ६ दिन अगाडिनै ओलीले संसद छल्न र आफ्ना आसेपासेहरूको नियुक्ति बचाउन अध्यादेश जारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् ।

खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘सरकारले विशेष अधिवेशन बोलाउने, नियमित बजेट अधिवेशन तुरुन्तै बोलाउनु पर्ला, अनि किन अहिले अध्यादेश ?’

‘मुलुक अध्यादेशबाटै चलाउने हो राष्ट्रपति र प्रधानमन्त्री ज्यूले ?’, उनका प्रश्न छ, ‘विधि, विधान, कानून, नियम, संविधानले होइन सनकले देश चलाउन प्रधानमन्त्री लाग्नु भयो । यो लोकतन्त्रका लागि घातक हो !’

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट निर्णय गराएर सिफारिस गर्नेवित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारीले दीघकालीन असरहरू नहेरेर तुरुन्त अध्यादेशहरू जारी गर्ने कार्यलाई एमालेभित्रै वरिष्ठ नेता माधव नेपालसहितका नेताहरूले रुचाएका छैनन् ।

Published : Wednesday, 2021 May 5, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया