शंकर पोखरेलको मुख्यमन्त्री पदलाई दशा लाग्यो, आफ्नै गाउँमा घर भएका सांसदले छाडे !

बुटवल । एमालेका लुम्बिनी प्रदेशका सांसद अमरबहादुर डाँगीले पार्टी परित्याग गरेर सांसद पदबाटै राजीनामा दिने तयारी गरेका छन् ।
डाँगी माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको माओवादीका प्रदेश सांसद ईन्द्रजित थारुले बताएका छन् ।

माओवादीमा प्रवेश गर्दा एमालेले कारबाही गर्ने भएकाले सांसद पदबाटै राजीनामा दिएर माओवादी प्रवेशको तयारीमा डाँगी रहेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले सांसद पदबाट काराबाही गर्ने भएकाले त्यसअघि नै डाँगीले सांसद पदबाट राजीनामा दिनेछन् ।

शंकर पोखरेलले अविश्वासको प्रस्ताव छलेर शक्तिको आडमा मुख्यमन्त्री पद ओगटेपछि एमालेभित्रका इमान्दार नेताहरूले धमाधम सांसद पद छाड्न थालेका छन् । पोखरेल र डाँगीको दाङमा एउटै गाउँ हो ।

माओवादीका सांसद थारुले अमरबहादुर डाँगी माओवादीमा प्रवेश गर्ने सहमति भइसकेको दाबी गरे ।

एमालेका नेता डाँगी दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् । डाँगीले राजीनामा दिए मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ जना सांसद मात्रै हुनेछन् ।

यसअघि एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका थिए । राजीनामा दिएसँगै उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

माओवादी केन्द्रकी सांसद दामा शर्माले एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य डाँगी माओवादी, नेपाली कांग्रेस, जनता समाजबादी पाटी, राष्ट्रिय जनमोर्चाको समर्थनमा आएको दाबी गरेकी छिन् ।

डाँगी एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मानिन्थे । डाँगी पार्टीभित्र हक्की, निस्कलंक र बफादार नेताको छबि बनाएका छन् ।
डाँगीले राजनीतिका लागि प्रधानाध्यापकको जागिरसमेत त्यागेका थिए ।

एमाले दाङको संगठन निर्माण र विस्तारमा डाँगीको ठूलो योगदान रहेको छ । डाँगी तत्कालीन घोराही नगरपालिकाका पूर्वमेयर पनि हुन् ।

डाँगी पनि ४ दलीय गठबन्धनको पक्षमा लागेको चर्चासँगै मुख्यमन्त्री पोखरेलको आगामी राजनीतिक यात्रा थप जटिल बनेको छ ।

Published : Tuesday, 2021 May 4, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया