शीतल निवासको सहयोगमा ओलीले दुई भीभीआईपी फाले

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा एमाले नेतृ सीता पौडेल र सुदूरपश्चिममा पूर्वराप्रपाका नेता गंगाप्रसाद यादवलाई नियुक्त गरेकी हुन् ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकबाट ओलीले पौडेल र यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेका थिए ।

यसअघि सोमबारनै भण्डारीले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला पन्त त्रिपाठीलाई पदमुक्त गरेकी थिइन् ।

शेरचन र त्रिपाठी तत्कालीन नेकपा हुँदा माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका थिए ।

पौडेल प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकार थिइन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष समेत हुन् ।

पौडेल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका अध्यक्ष पनि हुन् । यादव राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना नेता हुन् । राप्रपाको संस्थापक मध्येका नेता हुन् ।

यादव २०७२ असोज २९ गते उप–सभामुखमा निर्वाचित भएका थिए । यादव संसदको कार्यकाल समाप्त भएको भोलिपल्टै एमालेमा प्रवेश गरेका थिए ।

ओलीले गण्डकी प्रदेशमा आफ्नो दल एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अविश्वासको प्रस्तावमा शेरचनले असहयोग गरेको भन्दै रिसाएका थिए ।

सुदूरपश्चिम प्रदेशमा माओवादीको सरकार छ । माओवादीको सरकारलाई असहयोग गर्न ओलीले त्रिपाठीलाई हटाएर यादवलाई प्रदेश प्रमुख बनाएका छन् ।

Published : Monday, 2021 May 3, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया