ओली-पोखरेलको पुच्छर बनेपछि साहलाई खाणले नोटिसमा राखे, चुरिफुरी गरे मूल्य चुकाउनुपर्ने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको बर्खिपालमा लोकतन्त्रको उपहास हुने काम गरेको आरोप लगाएका छन् ।

लुम्बिनी प्रदेशमा बहुमत सांसदको हस्ताक्षर विपरीत एमालेका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर संसदीय पद्धतीविरुद्धको काम गरेको बताए ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदले गरेको हस्ताक्षर विपरीत साहले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर संविधान विपरितको कार्य गरेको बताएका छन् ।

कांग्रेस नेता खाणले भने, ‘लुम्बिनीमा प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले बहुमत गुमाएका एमालेका नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्नुभएको छ । बिहानमात्रै राजीनामा दिएका पोखरेलविरुद्ध ८१ सदस्यीय लुम्बिनी प्रदेश सभाका ४२ सांसदले हस्ताक्षर बुझाउँदा पनि पोखरेललाई नै मुख्यमन्त्रीमा नियुक्त गर्नु लोकतन्त्रको उपहास हो ।’

खाणले भने, ‘संविधानको बर्खिलाप हो । दिउँसै रात पार्ने संविधान र कान२नविपरीत काम भएको छ ।’

खाणले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा प्रदेश प्रमुख साहले संविधानमा उल्लेखित व्यवस्था विपरीत अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाए ।

‘केपी ओलीले प्रधानमन्त्री भएको दिनदेखि नै संविधान, विधि र पद्धती विपरीतका काम गर्दै आउनु भएको छ’, कांग्रेस नेता खाणले भने, ‘अहिले पनि ओलीजीले नियुक्त गरेका प्रदेश प्रमुखले संसदीय पद्धती विपरीत संविधान र कानूनको बर्खिलापमा शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ ।’

प्रदेश प्रमुखको विधि विपरीतको कामविरुद्ध कांग्रेसले विरोध गर्ने बताए ।

Published : Sunday, 2021 May 2, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया