दीपक गिरीको प्रश्न, ‘जनताको उपचार नगर्ने, सत्ताको खेलमा लाग्ने कम्युनिस्ट सरकारलाई कर किन तिर्ने ?’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कोरोना महामारीको यो अवस्था प्रधानमन्त्री केपी ओली, उनका मन्त्री, मुख्यमन्त्री र जनप्रतिनिधिहरूको असफलताले भएको बताएका छन् ।

गिरीले निजी सचिवालयमार्फत आइतबार प्रेस नोट जारी गरेर पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा ओलीले कोरोना रोकथाम र व्यवस्थापनलाई समयमा ध्यान नदिएको बताए । उनले भने, ‘कोरोना महामारी यसरी फैलिनुमा एमाले र प्रधानमन्त्री ओलीजीको ठूलो गल्ती छ ।’

ओलीले बालुवाटारभित्रै अनावश्यक भिडभाड जम्मा गर्ने, आमसभा गर्ने, सडकमा प्रदर्शन गर्ने, भिड जम्मा गरेर कामै पूरा नभएको धरहरा उद्घाटन गर्ने जस्ता कार्य गर्दा कोरोना भयाबह अवस्थामा पुगेको गिरीले बताए ।

छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिनेवित्तिकै सिमाना र अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन गर्नुपर्नेमा ओली सरकारले नगरेको भन्दै गिरीले आक्रोश पोखे । ‘नेपाल–भारतको सिमाना समयमा व्यवस्थापन गर्न नसक्दा कोरोना महामारी ह्वात्तै बढ्यो’, उनले भने, ‘ओलीजीलाई यो सबै कुरा समयमा नै थाहा थियो । उहाँले कोरोना रोकथाम र उपचारमा ध्यान दिनुभएन । कुर्सी कसरी बचाउने त्यसतर्फमात्रै लाग्नुभयो ।’

अहिले पनि भारतसहित विभिन्न देशबाट आएका व्यक्तिलाई क्वारेन्टिनमा राख्ने उचित व्यवस्था सरकारले गर्न नसकेको उनले बताए ।

कोरोना संक्रमितका बिरामीहरू अस्पतालको ढोकामा पुगेर उपचार नपाएर फिर्ता हुनुपर्ने, मृत्युवरण हुनुपर्ने अवस्था आएको भन्दै पूर्वमन्त्री गिरीले उपचारको उचित व्यवस्था गर्न माग गरे । सरकारले जनतासँग कर उठाएर अस्पतालमा बेड दिएर उपचार गर्न सक्दैन भनेर हात उठाउने कार्यको निन्दा एवम् भर्त्सना गरेका गिरीले यस्तै अवस्था रह्यो भने यो सरकारलाई किन कर तिर्ने भनेर गम्भीर प्रश्न उठाएका छन् ।

‘जनताको जीवन ठूलो कुरा हो । पहिला मिलेर कोरोना महामारीविरुद्ध एकजुट भएर लडौँ’, नेता गिरीले भने, ‘कोरोनाविरुद्धको लडाइँमा कांग्रेसले सरकारलाई सबै सहयोग गर्न तयार छ ।’ पूर्वमन्त्री समेत रहेका गिरीले कोरोनाका बहाना बनाएर सत्ता टिकाउने खेल गर्ने, भ्रष्टाचार गर्ने, संक्रमितको उपचारमा खेलवाड गर्ने, स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउने कार्य कदापी स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

निषेधाज्ञा लागू भएका बेला सरकारले आईसीयु बढाउनुपर्ने, बेडहरू थप्नुपर्ने, खाली रहेका संरचनालाई क्वारेन्टिन बनाउनुपर्ने, अक्सिजनसहितका स्वास्थ्य सामग्रीको बन्दोवस्तीमा लाग्नुपर्ने गिरीले सुझाव दिएका छन् । उनले अमेरिकाले विश्वका अति प्रभावित देशहरूलाई कोरोनाविरुद्धको खोप दिने भनेको विषयमा कुटनीतिक पहलमार्फत काम अगाडि बढाउनुपर्ने पनि बताएका छन् ।

कोरोनाबाट जनताको जीवन बचाउने बेला प्रधानमन्त्री ओली र एमालेका नेताहरू सांसद अपहरण, खरिदविक्री जस्ता अराजनीतिक कार्यमा लागेको भन्दै चिन्ता जनाए । ‘एमाले र माओवादीलाई जनताले विश्वास गरेर झण्डै दुईतिहाइको बहुमत दिएका छन्’, उनले भने, ‘पार्टीभित्रको झगडा व्यवस्थापन गर्न नसकेर मुलुकमा कम्युनिस्टहरूले अस्थिरता निम्त्याएका छन् ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, घोराही उप–महानगरपालिका र तुलसीपुर उप–महानगरपालिकाले कोरोनाबाट बच्नका लागि समयमा अपनाउनुपर्ने तयारी नगरेकोमा कांग्रेस केन्द्रीय सदस्य गिरीले आपत्ति जनाएका छन् ।

तुलसीपुर उप–महानगरपालिकाले बल्ल अहिले आएर बेड खोज्न थालेको भन्दै गिरीले प्रश्न गरे, ‘तपाईहरूको केन्द्र र प्रदेशमा सरकार छ । कोरोना महामारी आउँदैछ भन्ने कुरा तपाईहरूलाई थाहा थिएन ? अहिले आएर झाटार्ने गरेर बेड खोज्दै हुनुहुन्छ ? यो एक वर्षको समयमा के गर्नुभयो ?’

‘दाङ मुख्यमन्त्री शंकर पोखरेलजीकै जिल्ला हो । कोरोना अस्पतालमा कोरोनाका बिरामीले उपचार गर्न पाएका छैनन्’, उनले भने, ‘जिम्मेवार भएर काम गर्नुस् । होइन भने गफ लगाएर मात्रै हुँदैन ।’

Published : Sunday, 2021 May 2, 3:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया