ओलीलाई कुर्सी भए पुग्छ, महामारीको सामना हामी आफै मिलेर गरौँः कांग्रेस नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले केपी ओलीको सरकारले कोरोनाभाइरसबाट संक्रमित बनेका बिरामीहरूको उपचार गर्न सक्दैन भनेर हात उठाएको अवस्थामा सबै मिलेर महामारीसँग जुध्न अपील गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत कांग्रेस नेता चौधरीले सत्ता बचाउन लागेको ओली सरकारबाट जनताको जीवन बचाउन नसकिने बताए ।

ओली सरकारको गैरजिम्मेवारीपनाबाट कोही पनि नआत्तिएर महामारीलाई सामना गर्नुपर्नेभन्दै चौधरीले जे जहाँ छौँ त्यहीबाट कोरोना रोकथाम र उपचारमा अगाडि अनुरोध गरेका छन् ।

‘जहाँबाट हो, हामी जे गर्न सक्छौ सहयोगमा जुटौँ । यो महामारीलाई जितौं’, कांग्रेस नेता चौधरीले भनेका छन् ।

ओली सरकारले आफैले भिड जम्मा गरेर कोरोना महामारीको आगो भुसमा सल्काएको चौधरीले आरोप लगाएका छन् ।

‘उल्टो सरकार नै मान्छेको भिड देखाएर आफ्नै दलको नेतालाई तर्साउने–गलाउने खेलमा लाग्यो’, उनले भने, ‘असंवैधानिक कदम चालेर विपक्षी दलहरूलाई सडकमा जान बाध्य बनायो । यसले भुसको आगो जस्तैभित्रभित्रै कोरोना महामारीको रुप लिइसकेको रहेछ ।’

उनले भनेका छन्, ‘सरकार भन्छ धान्न सक्ने अवश्थामा हामी छैनौँ आफै सामना गर्नुस् । कस्तो बिडम्बना अप्ठ्यारो समयको बेला आफ्नो नागरिकलाई नआत्तिनु होस्, सरकार छ भन्ने बेलामा सरकारले हात उठाइदियो ।’

‘सरकार आफ्नो आयु लम्ब्याउने खेलमा छ’, उनले भने, ‘विपक्षी दलहरू जोडघटाउमै अलमलिएका छन् । अर्कोतर्फ नागरिक महामारीको चपेटामा ज्यान जोखिमको चिन्ताले छटपटाइरहेका छन् ।’

दैनिक हजारौं जनता कोरोना महामारीबाट संक्रमित भई दर्जनौं नागरिकले प्रत्येक दिन औषधि उपचार बेगर ज्यान गुमाएको कांग्रेस नेता चौधरीले बताएका छन् ।

‘शहरको कुनै अस्पताल खाली छैनन् । हरेक अस्पतालमा जताततै भद्रगोल तरिकाले बिरामी छरिएका छन्’, उनले भने, ‘सीमित आईसियु, भेन्टिलेटरको कारण नागरिकले अनाहकमा ज्यान गुमाएका छन् ।’

‘सरकार कहिँकतै तयारी गरेको देखिदैन’, नेता चौधरीले भनेका छन्, ‘कमसेकम हरेक स्थानीय तहमा आवश्यकतानुसार सामान्य अक्सिजनसहितको कोरोना अस्पताल बनाउन सक्ने स्थितिमा हुनुपथ्र्यो ।’

‘अक्सिजनको अभाव हुन नदिन समयमा नै स्वास्थ्य सेवा वाहेकका ठाउँमा अक्सिजन प्रयोग गर्नमा रोक लगाउन सक्नुपर्छ सरकारले’, नेता चौधरीले भने, ‘यस्तो बेलामा बढि प्रयोग हुने औषधिहरूको अभाव नहुन दिने कुरामा सचेत हुन जरुरी थियो ।’

चौधरीले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डिसिभिर जस्तो प्रभावकारी मानिएको औषधिको कालोबजारी भैरहेको भन्दै सरकारमाथि असन्तुष्टि जनाए ।

‘सामान्य मान्छेले रेम्डिसिभिर औषधि पाउने स्थिति छैन’, उनले भने, ‘समयमा सरकार सचेत भएको भए, जनताप्रति जन उत्तरदायी भएर काम गरेको भए यो स्थिति पक्कै आउने थिएन ।’

कोरोनाको बहाना बनाएर ओलीले आफ्नो सत्ता टिकाउन अनेकौ तिकडम र बहाना बाजी गरेको चौधरीको आरोप छ । ओलीले कोरोना रोकथाम र उपचारमा गर्नुपर्ने उपायहरू समयभित्र गरेका छैनन् । सोही कारण कोरोना महामारी भुसमा आगो सल्किए जसरी फैलिएको छ ।

Published : Saturday, 2021 May 1, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया