बैंक–उद्योग–पत्रकारलाई नयाँ व्यवस्था, निषेधाज्ञा उल्लंघन गरे जरिवानादेखि देश निकाला गरिने

काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाई शाखाहरूमा एक चौथाई कर्मचारी राखेर सञ्चालन गर्न निर्देशन दिएको छ ।

सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले बैंकहरूको सहजीकरण र व्यवस्थापन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्न पनि सीसीएमसीले निर्देशन दिएको छ ।

सरकारले काठमाडौं उपत्यकाको हकमा पत्रकारहरूलाई सूचना तथा प्रसारण विभागबाटको प्रेस पासलाई मान्यता दिने निर्णय गरेको छ ।

अन्य जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पासलाई मान्य हुने निर्णय सीसीएमसीले गरेको छ ।

उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण कार्यसम्बन्धमा सीसीएमसीले कर्मचारी एवम् श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

‘आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

क्वारेन्टिन अनुगमनसम्बन्धमा सीसीएमसीले काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने निर्णय गरेको छ ।

अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने निर्णय भएको सीसीएमसीले जनाएको छ ।

होम क्वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्नेछ ।

‘होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल देश निकाला गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानूनबमोजिम जरिवाना गर्ने निर्णय सीसीएमसीले गरेको छ ।

होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने निर्णय सीसीएमसीले गरेको छ ।

आमसञ्चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित, प्रकाशित गर्न सीसीएमसीले अनुरोध गरेको छ ।

सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्न सीसीएमसीले निर्देशन दिएको छ ।

Published : Saturday, 2021 May 1, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया