प्रा.पौडेलको निधनप्रति खाणद्वारा शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले राष्ट्रिय सभाका पूर्व सदस्य एवम् कांग्रेस नेता प्रा.विदुर पौडेलको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

कांग्रेस नेता प्रा.पौडेलको शनिबार बिहान काठमाडौंमा ७७ वर्षको उमेरमा निधन भएको थियो ।

नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व. पौडेल २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

राजनीतिकका साथै शैक्षिक एवम् सामाजिक क्षेत्रमा स्व.पौडेलको अतुलनीय योगदान रहेको खाणले बताएका छन् ।

लामो समय संस्कृत विश्वविद्यालयको वाल्मिकी विद्यापीठमा प्राध्यापन गरेका स्व.पौडेल नेपाल संस्कृत विश्वविद्यालयको उपकूलपति समेत रहेका थिए ।

स्व.पौडेल पूर्वीय दर्शन र साहित्यका एक धरोहरका रुपमा परिचित थिए ।

प्रा.पौडेलको निधनले कांग्रेस पार्टी र शैक्षिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको प्रमुख सचेतक खाणले बताएका छन् ।

‘हामीले एक असल, त्यागी, निष्ठावान राजनीतिज्ञ एवं बौद्धिक व्यक्तित्वलाई गुमाएका छौं’, उनले भनेका छन् ।

‘प्रा.पौडेलको निधनप्रति कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, खाणले भने, ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछ ।’

Published : Saturday, 2021 May 1, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया