रसियन ग्रुपद्वारा एप्पलको डाटा ह्याकिङ्ग

न्युयोर्क । रसियन ह्याकिङ्ग समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौती माग गरेको छ ।

कम्पनी तथा आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि निकै संवेदनशील मानिने एप्पलसँग ह्याकरहरूले यतिधेरै फिरौति माग्नुलाई गम्भीर रुपमा लिइएको छ ।

ह्याकर समूहले पैसाका लागि एप्पललाई ब्ल्याकमेल गरिरहेको छ । ब्ल्यकमेलको यो घटनाले एप्पलका भविष्यका प्रडक्टहरू संकटमा परेका छन् ।

ह्याकरहरूले एप्पलका आसन्न प्रडक्टहरूसम्बन्धी निकै संवेदनशील डाटा ह्याक गरेको जनाइएको छ ।

एप्पललाई ह्याक गरेर फिरौति माग्ने रुसी ह्याकर समूहको नाम ‘आरईभीआईएल’ हो । ह्याकर समूहले एप्पलका भविष्यका प्रडक्टहरूसँग सम्बन्धित डाटा लिक गरिदिएको दाबी गरेको छ ।

ह्याकरहरूले सबैभन्दा पहिले ताइबानस्थित क्वान्टा कम्पनीलाई तारो बनाएका थिए ।

क्वान्टालाई ह्याक गर्न नसकेपछि उसको सबैभन्दा ठूलो ग्राहकको रुपमा रहेको एप्पल कम्पनीमाथि साइबर आक्रमण गर्न शुरु गरेका छन् ।

डार्क वेब पोर्टलमा राखेको एक सन्देशमा ह्याकरहरूले यस विषयमा खुलासा गरेका छन् । एप्पलले सार्वजनिक गरिनसकेको ल्यापटपको तस्वीर पनि उनीहरूले लिक गरेका छन् ।

स्क्रिनशट खोल्नेबित्तिकै डिस्प्ले चेतावनी पनि देख्न सकिन्छ । यी एप्पलका सम्पत्ति हुन् र तुरुन्त फिर्ता गर्नु पर्दछ भनेर लेखिएको छ ।

आगामी मे १ अगाडिसम्म एप्पल वा क्वान्टा कम्पनीबाट ५ करोड डलर रकम फिरौती नपाएसम्म दिनहुँ एप्पलका नयाँ–नयाँ डाटा सार्वजनिक गर्दै जाने ह्याकरहरूले चेतावनी दिएका छन् ।

Published : Saturday, 2021 April 24, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया