पुलिस र डायमण्ड उपाधीका लागि भिड्ने

काठमाडौं । नेपाल पुलिस क्लब र ह्वङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधीका लागि भिड्ने भएका छन् ।

नेपाल भलिबल संघको आयोजनामा बुधबार भएको प्रतियोगिताको लिगको अन्तिम खेलमा चिर प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै डायमण्ड फाईनलमा प्रवेश गरेको हो ।

फाईनल प्रवेशका लागि दुवै टोलीलाई जित आवश्यक रहेको अवस्थामा डायमण्डले २५–२१, २६–२४, १४–२५ र २५–२१ ले जितलाई आफ्नो पक्षमा पारेको छ । डायमण्डको ५ खेलबाट १३ अंक भएको छ ।

अर्को खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै फाईनलमा स्थान बनाएको छ ।

पुलिसले आर्मीलाई २६–२४, २५–१७, २८–२६ ले पराजित गरेको छ । पुलिसको ५ खेलबाट ११ अंक रहेको छ ।

एपीएफको १० र आर्मीको ८ अंक रहेको छ । एपिएफ तेश्रो र आर्मी चौथो भएका छन् ।

भरतपुर मेट्रो ३ अंकका साथ पाँचौ र कुनै पनि अंक नजोडेको ढोरपाटन स्पोर्टस् क्लब छैटौँ स्थानमा रहेका छन् । प्रतियोगिताममा महिला तर्फ ६ टिमको सहभागिता रहेको थियो ।

दशरथ रङ्गशाला कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ बुलबुले रारा क्लबले नयाँबजार समाज युवा क्लबलाई ३–० सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो ।

योसँगै बुलबुलेको १२ अंक भएको छ । बुलबुलेले २५–१९, २५–१२, २५–२१ ले जित निकाल्दै आफ्नो खातामा १२ अंक पुर्‍याएको छ ।

प्रतियोगितमा विजयी टिमले नगद ३ लाखसहित ट्रफी प्राप्त गर्नेछ । उप–विजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्नेछन् ।

खेलाडीहरूले मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।

Published : Wednesday, 2021 April 7, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया