एपिएफ र हेल्प नेपाल शीर्ष स्थानमा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष स्थानमा रहन सफल भएका छन् ।

एपिएफले ३ मा तीन खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो ।

हेल्प नेपालले पनि ३ खेलमा तीन खेल जित्दै एपिएफसंग समान अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको छ ।

७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिसको एनपिसी ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेका छन् ।

नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा शून्य अंकका साथ पुछारमा रहेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकको प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनमा भएको प्रतियोगितामा महिलातर्फ सेनाको त्रिभुवन आर्मी क्लब र पुलिसको एनपिसी ३ खेलमा तीन खेल जित्दै समान ८–८ अंकका साथ शीर्ष स्थानमा रहेका छन् । आर्मीले ह्वाङ्गजी न्यू डायमण्डसंग र पुलिसले एपिएफसंग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँट्न बाध्य भएका थिए ।

न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ । एपिएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् । शीर्ष दुई टोलीले फाईनलमा उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आइतबार भएको महिलातर्फको खेलमा पुलिस र सेनाले जित हात पार्‍यो । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५.९, २५.५, २५.५ र सेनाले भरतपुर मेट्रो क्लबलाई २५.९, २५.८, २५.१३ ले पराजित गरेको हो ।

पुरुषतर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५.१८, २५.१९, २५.११ ले पराजित गर्‍यो ।

तीन भारतीय खेलाडी सहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१.२५, २५.१८, २६.२४ र २५.२१ को सेटमा पराजित गर्दै ९ अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो ।

Published : Sunday, 2021 April 4, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया