नेपाललाई थ्री नेसन्स कपको उपाधि, २१ वर्षपछि बंगलादेशसँग बदला

काठमाडौं । बंगलादेशलाई हराउँदै नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ भएको फाइनलमा नेपालसँग बंगलादेश पराजित भएको छ । नेपालले २–१ गोलले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको छ ।

नेपाली सिनियर टिमले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको छ ।

नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन ।

नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक–एक गोल गरेका छन् ।

बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए ।

सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरेका थिए । सुनील बलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डर राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्सभित्रबाट गोल गरेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

४१ मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो । सन्जोगले निकालेको सुन्दर पासमा विशाल राईले अग्रता दोब्बर पारेका हुन् ।

एन्फाको आयोजना भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु–२३ टिमबीच प्रतिस्पर्धा भएको हो ।

समूह चरण नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो ।

बंगलादेशले भने किर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए । नेपाल खेलको सुरुवातदेखि नै हावी भएको थियो ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो ।

नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो ।

यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।

पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो ।

२१ वर्षपछि नेपालले त्यस हारको बदला पनि दशरथ रंगशालामै लियो ।

Published : Monday, 2021 March 29, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया