काठमाडौं फुटबल संघमा अर्को गणेश थापा प्रवृत्ति निस्किए, अपदस्थ गर्न माग

काठमाडौं । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहले विगत १७–१८ वर्षदेखि संघभित्र कानून विपरितका कार्य गरेर हालिमुहाली गरेको आरोप लागेको छ ।

संघको विधान विपरित अध्यक्ष शाह दुई वटा संस्थामा अध्यक्ष रहेका छन् । दुई वटा संस्थामा अध्यक्ष रहेका शाहलाई अध्यक्षबाट हटाउन एन्फा नेतृत्वलाई दवाव छ ।

फुटबल संघको अध्यक्ष रहँदा अरु संघ संस्थाको अध्यक्ष हुन नपाइने एन्फाको विधानमा छ । तर, अध्यक्ष शाह भने विधान मिचेर काठमाडौं जिल्ला फुटबल संघ र सानो गौचरण युवा क्लवको अध्यक्षमा कब्जा जमाएर बसेका छन् ।

अध्यक्ष शाहले आफ्नै दाई देवेन्द्रजंग शाहीलाई काठमाडौं जिल्ला फुटबल संघको कोच बनाएका छन् । शाहीलाई फुटबलसम्बन्धी कुनै जानकारी नरहेको आरोप लाग्दै आएको छ । शाहले कोच नियुक्ति आफूले नभई गणेश थापाले गरेको भन्दै शाहीसँग सबै कुरा पुग्ने दाबी गरे ।

अध्यक्ष शाहले समयमा संघको लेखा परीक्षणनै नगरेको आरोप विरोधीहरूले लगाएका छन् । शाहले संघलाई समयमा दर्ता समेत नगराएको आरोप छ । तर, अध्यक्ष शाहले आफूले लेखा परीक्षण गरेर तोकिएको स्थानमा दर्ता गरेको दाबी गरेका छन् । शाहको दाबीलाई संघकै केही सदस्यले आक्रोश पोखेका छन् ।

अध्यक्ष शाहले घरभाडा वापतको रकम हिनामिना गरेको आरोप छ । शाहले मिलोमतो गरेर सानो गौचरणमा रहेको घरभाडा खाएको एक जना सदस्यले बताएका छन् । मिलोमतोमा प्राइम लोकेशनमा रहेका संघको घरका सटरहरूको भाडा जम्मा ८ हजार छ । ती सटरको अगाडि रहेका व्यक्तिका घरको सटरको भाडा ३० हजारसम्म लिने गरेका छन् ।

अध्यक्ष शाहले घर भाडा वडा कार्यालयले लिने गरेको बताए । उनले आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाका बेला शाह कोषाध्यक्ष थिए । थापासँग शाहलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । गणेश थापाले एन्फामा भ्रष्टाचारदेखि विभिन्न हर्कत गरेपछि संसदको सार्वजनिक लेखा समितिले छानविन गरेको थियो ।

थापाले अख्तियारमा गएर बयान समेत दिएका थिए । थापा अहिले फुटबलसम्बन्धी गतिविधि गर्न नपाउने गरेर थन्किएका छन् ।

शाहले पनि काठमाडौं जिल्ला फुटबल संघभित्र गणश थापाले एन्फामा गरे जस्तै कार्य गर्न खोजेको भनेर फुटबलका शुभेच्छुकहरूले चिन्ता जनाएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एकजना सदस्यले शाहलाई अध्यक्षबाट तत्काल हटाएर काठमाडौं फुटबलको भविष्य बचाउन माग गरेका छन् ।

अध्यक्ष शाहले एन्फाको साधारण सभा नगर्ने, साधारण सभा पनि आफ्नै घरमा प्रलोभनमा पारेर गराउने, आफ्ना विरोधीहरूलाई कार्यसमितिबाट हटाउने, आफू अनुकूलको निर्णय गर्ने गरेको आरोप छ ।

अध्यक्ष शाहले एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाको खटनपटनमा काठमाडौं फुटबल संघमा काम गर्ने गरेको आरोप लाग्दै आएको छ । उनले आरोपलाई भने अस्वीकार गरेका छन् । शाहलाई संघभित्र आफ्नो पदीय आचरण विपरितका कार्यहरू गरेको भनेर बेलाबेला बबण्डार हुने गरेको छ ।

काठमाडौं फुटबल संघभित्रको विवादका विषयमा सोधिएको जिज्ञासामा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले काठमाडौं जिल्ला फुटबल संघभित्रको केही कुराहरू आएको बताए ।

उनले भने, ‘काठमाडौं जिल्ला फुटबल संघका केही गुनासाहरू आएका छन् । त्यस विषयमा अहिले म बोल्न मिल्दैन । ती गुनासाहरू सम्बोधन हुन्छ । अहिले धेरै नबोलौँ । छानविन गर्दा दोषी पाइए विधानअनुसार कदम चाल्छौँ ।’

Published : Sunday, 2021 March 14, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया