राष्ट्रिय सहमतिको सरकार प्रस्ताव, होइन भने निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस तेस्रो दलमा पुगेको छ । कांग्रेसलाई सरकारमा जाने ठूलो अवसर आएको छ । प्रस्ताव पनि आउनेछन् । कांग्रेसले आफूलाई सुधार गरेर लैजान्छ वा सरकारमा नेकपाको पिछलग्गु बनाएर जान्छ समयले बताउनेछ ।

सकेसम्म कांग्रेस नेकपाको पछाडि लतारिएर सरकारमा जानु हुँदैन । सरकार बनाउन नेकपालाई नै समय दिनुपर्छ । उनीहरूबाट पार लागेन भने मात्रै कांग्रेसले सरकार बनाउन जोडबल गर्नुपर्छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको कुरा उठाएका छन् । दाहालले घुमाउरो भाषामा आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको कुरा गरेका छन् । दाहालको यो प्रस्तावमा कांग्रेस फस्छ वा फस्दैन हेर्न बाँकी छ । प्रधानमन्त्री र अध्यक्ष पदका लागि नेकपाभित्रको विवाद थियो भन्ने कुरा लुकाएर लुक्नेवाला छैन । दाहालले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार भन्नु भनेको प्रधानमन्त्रीकै लागि हो । दाहालले सजिलै प्रधानमन्त्री पद अरुलाई दिनेवाला छैनन् ।

प्रचण्ड नेतृत्वको नेकपाका दोस्रो वरीयताका अध्यक्ष माधव नेपाल पनि प्रधानमन्त्रीका लागि तयारी अवस्थामा छन् । अध्यक्ष नेपालले यसअघि पनि प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिसकेका छन् । दाहाल र नेपालबीच प्रधानमन्त्री बन्ने विषयमा विवाद हुने पक्का छ ।

उता, प्रधानमन्त्री बन्ने योजनामा बाबुराम भट्टराई पनि पर्खेर बसेका छन् । उपचारको बहानामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बाबुरामले पनि प्रधानमन्त्री पद ताकेर बसेका छन् । नेपालमै उपचार गराउन छाडेर बाबुराम दिल्लीमा उपचार गराउन गएको विषयलाई पनि नानाथरी आरोप लगाएका छन् । बिगतमा बाबुरामलाई भारतपरस्त भनेर आरोप लाग्दै आएको छ । बाबुरामका जेएनयुका गुरु एसडी मुनिले समेत आफ्नो किताबमा माओवादीको भण्डाफोर गरिदिएका छन् । त्यसपछि बाबुराम पनि छन् ।

नेकपा र बाबुरामहरू प्रधानमन्त्री बन्न सकेनन् भने ओली आफै प्रधामन्त्रीमा टिकिरहन अवसर खोज्नेछन् । ओलीले पनि सकेनन् भने कांग्रेसको पालो आउनेछन् । शुरुमै कांग्रेसलाई प्रधानमन्त्री दिने सम्भावना निकै कम छ । ओली र प्रचण्ड–माधवको झगडाले कांग्रेसको पोल्टामा सत्ताको नेतृत्व आउनेछ ।

अर्को कुरा प्रचण्डले भने जस्तो नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना देखिदैन । कुनै पनि तरिकाले सरकार बन्न सकेन भने छ महिनाभित्र अर्को निर्वाचनको तयारीमा दलहरू जान पनि सक्छन् । दलहरू ढिलो चाँढो जाने भनेको निर्वाचनमा नै हो । उनीहरूले निर्वाचनको तयारी गर्दा राम्रो हुन्छ । प्रचण्डले आफ्ना अन्तर्वार्ताहरूमा राष्ट्रिय सहमतिको कुरा गरेका छन् ।

उनले राष्ट्रिय सहमति हुँदैन भन्ने पनि राम्रोसँग बुझेका छन् । कांग्रेसलाई अबसर आएको जस्तो देखिए पनि तत्काल कांग्रेसले मुख मिठ्याउनुको अर्थ छैन । ओली र प्रचण्ड–माधव समूह मिलेर जाने सम्भावना पनि निकै छ । अनौपचारिक रुपमा विभाजन भएका नेकपालाई मिलाउन अदृष्य शक्ति पनि लागेको छ । नेकपाको राजनीति स्वदेशीभन्दा पनि विदेशहरूको दवावमा चलिरहेको छ ।

Published : Friday, 2021 February 26, 7:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया