‘हनुमान’हरूले ओलीलाई देउखुरीमा ‘डुबाए’, पुल उद्घाटन गर्दा उल्टो झण्डा

सिसहनियाँ । विरोध हुने डर भएपछि प्रधानमन्त्री केपी ओलीले दाङ देउखुरीको राप्ती नदीमा बनेको पक्की पुल सीमित व्यक्तिहरूका बीच उद्घाटन गरेका छन् ।

ओलीले सोमबार सीमित व्यक्तिहरूका बीच कडा सुरक्षा घेरामा उद्घाटन गरेका हुन् । पुल उद्घाटनका बेला पुलको दायाँ र बायाँ राष्ट्रिय झण्डा राखिएको थियो । एउटा झण्डा उल्टो पारेर राखिएको थियो । उल्टो झण्डामुनि बसेर ओलीले पुलको उद्घाटन गरेका छन् ।

धेरै चाकढी गर्न खोज्दा ओलीका ‘हनुमान’हरूले उल्टो झण्डा राखेको खुलेको छ । ओलीको विरोधमा उल्टो झण्डा राखिएको हो वा भुलेर त्यसो गरिएको हो केही भनिएको छैन ।

राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल नेपालकै दोस्रो लामो पुल मानिएको छ ।

यो पुलको जन्मादाता राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा.गोविन्द पोखरेल हुन् । उनकै पहलमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको योजना पारेका थिए । डा.पोखरेलले देउखुरी उपत्यकाबाट प्रतिनिधि गर्ने सांसदहरूलाई बोलाएर पुलको तयारी गर्न अनुरोध गरेका थिए ।

ओलीले पुलको उद्घाटन गर्ने क्रममा पुल बनाउने योगदान गर्ने राजनीतिक दल र नेताहरू कसैको पनि नाम लिएनन् ।

उद्घाटन कार्यक्रममा ओलीका साथै नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिहरूमात्र सहभागी थिए ।

मञ्चमा ओलीका साथै लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, मुख्यमन्त्री पोखरेलकी पत्नी सुजिता शाक्य, भौतिक योजना तथा पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा, राष्ट्रिय सभाकी सांसद कोमल ओली, पूर्वसांसदद्वय गंगा चौधरी र शान्ता चौधरीलगायत सीमित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रदेश सांसद, पुल निर्माण कम्पनीका प्रतिनिधि, सरकारी कर्मचारीहरूलाई मञ्चभन्दा तल राखिएको थियो । सर्वसाधारणलाई पुलको आसपासमा आउन दिइएको थिएन । पुलको असपासमा मात्रै नभएर टाढा–टाढासम्म सुरक्षाकर्मीहरूको ठूलो संख्यामा उपस्थिति थियो ।

सिसहनियाँ र महदेवा गाउँका नेपाली कांग्रेस तथा पूर्वमाओवादी समर्थक गाउँलेले यसअघि नै ओलीले पुल उदघाटन गर्ने कार्यक्रममा नजाने निर्णय गरेका थिए ।

पुलको शिलान्यास गर्ने बेला तत्कालीन एमालेले देउखुरी उपत्यका बन्द आह्वान गरेको थियो । पुल बन्न नदिन एमालेले गरेको बन्दका बेला मोटरसाइकल समेत जलाएर नष्ट गरिएको थियो ।

२०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सिचाइँमन्त्री दीपक गिरीले सो पुलको शिलान्यास गर्न जाँदा तत्कालीन एमालेका कार्यकर्ताहरूले देउखुरी बन्द आह्वान गरेका थिए ।

प्रधानमन्त्री ओलीको आगमनको विरोध जनाउन शनिबार साँझ प्रचण्ड–माधव समूहले देउखुरी क्षेत्रमा मशाल जुलुस निकालेको थियो ।

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।

राप्ती र गेरुवा दुवै पुल एएनके लुम्बिनी वाइपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको हो ।

Published : Monday, 2021 January 25, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया