गणेशमान सिंहको स्मृतिमा काठमाडौंमा बक्सिङ प्रतियोगिता हुने

काठमाडौं । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर फागुन तेस्रो सातादेखि नागार्जुन नगरपालिकाको स्युचाटारमा बक्सिङ प्रतियोगिता हुने जानकारी दिइएको हो । प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म हुनेछ ।

प्रतियोगिता नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिले गर्नेछ ।

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह र पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने जानकारी दिएका छन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपियाँ पुरस्कार पाउने छन् ।

दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि नागार्जुन नगरपालिकाले २० लाख रुपियाँ बजेट उपलब्ध गराउने नगरप्रमुख बस्नेतले बताए ।

बस्नेतले उत्कृष्ट महिला बक्सरलाई व्यक्तिगत खर्चमा एक थान स्कुटर दिने घोषणा पनि गरेका छन् । उत्कृष्ट पुरुष खेलाडीलाई आयोजकले मोटरसाइल प्रदान गर्नेछ ।

यसअघि ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा विगत चार वर्षदेखि नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता गर्दै आएका छन् । यस पटक पनि फागुनको २७, २८ र २९ गते किक बक्सिङ प्रतियोगिता हुँदैछ ।

Published : Friday, 2021 January 15, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया