एन्फा अध्यक्ष शेर्पाद्वारा प्रधानसेनापति थापालाई एएफसी लाइसेन्स हस्तान्तरण

काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई एएफसी लाइसेन्स हस्तान्तरण गरेका छन् ।

सैनिक मुख्यालय भद्रकालीमा बुधबार आयोजित विशेष समारोहमा अध्यक्ष शेर्पाले प्रधानसेनापति थापालाई लाइसेन्स उपलब्ध गराएका हुन् ।

एसियाली फुटबल कन्फेडरेसन अर्थात एएफसी आधिकारिक रूपमा ७ मे १९५४ मा मनिला, फिलिपिन्समा गठन गरिएको थियो ।

यसको मुख्यालय क्वालालम्पुर, मलेशियामा अवस्थित रहेको छ । यो अन्तर्राष्ट्रिय फुटबल महासंघ अर्थात फिफाभित्र रहेका ६ वटा संघहरू मध्ये एक हो । यसमा आवद्ध ४७ सदस्य राष्ट्रहरूमध्ये प्रायः एसियाली देशहरू रहेका छन् ।

नेपालमा एएफसीले क्लव लाईसेन्सिङ्गको प्रकृया २०१६ देखि लागू गरे पनि २०१८ देखि लाईसेन्स अनिवार्य गरेको थियो ।

सन् २०१९ मा अखिल नेपाल फुटबल संघले नेपालका सबै ‘ए’ डिभिजन क्लवहरूलाई एएफसी लाईसेन्स प्रकृया पूरा गर्न निर्देशन दिएकोमा कुनै पनि क्लवले मापदण्ड पूरा गर्न सकेका थिएनन् ।

सन् २०२० मा पनि अखिल नेपाल फुटबल संघले पुनः ‘ए’ डिभिजन एएफसी लाईसेनिङ्ग प्रकृया पूरा गर्न निर्देशन गरे बमोजिम त्रिभुवन आर्मी क्लवले सम्पूर्ण प्रकृयाहरू पूरा गरि आवश्यक कागजाद अखिल नेपाल फुटबल संघमा पेश गरेको थियो ।

फुटबल खेलको मात्र छुट्टै विधान तयार गरि फुटबल क्लवको नाममा दर्ता हुनुपर्ने प्रावधान भएकोले मंसिर १९ गते फुटबल खेलको छुट्टै विधान बनाई त्रिभुवन आर्मी फुटबल क्लवको नाममा दर्ता गरिए पश्चात फस्ट इन्स्टन बडीको निर्णयमा पुनर्विचार गरि पाउँ भनि अपील गरेको थियो ।

एन्फा क्लव लाइसेन्सिङको अपील पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी फुटबल क्लवलाई एएफसी कप क्लव लाइसेन्सिङ रेगुलेशन अनुसार सम्पूर्ण मापदण्ड तथा योग्यता पूरा गरेको भनि एएफसी लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो ।

सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठबाट स्वागत मन्तव्यसहित सुरु भएको उक्त लाइसेन्स हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, एन्फाका पदाधिकारीहरू तथा नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरूको उपस्थिति रहेको थियो ।

त्रिभुवन आर्मी फुटबल क्लवले एएफसी लाइसेन्स प्राप्त गरे पश्चात एएफसीअन्तरगतको कुनै पनि क्लवस्तरका अन्तराष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन पाउने बाटो खुल्ला भएको छ ।

सो क्लवका खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो खेल कौशलको प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसरको श्रृजना भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त क्लव एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालको पहिलो फुटबल क्लव हुन सफल भएको हुँदा नेपालको फुटबल ईतिहासमा ऐतिहासिक सफलताको रुपमा लिदै यसले नेपाली फुटबल खेलको बिकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

Published : Wednesday, 2020 December 30, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया