करातेमा नेपाललाई ३ स्वर्णसहित १० पदक

काठमाडौं । पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको ओपन २०२० वल्र्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरि १० पदक हात पार्न सफल भएको छ ।

नेपाली खेलाडी सञ्जु देशार, सुविता गौतम र अनुभा मग्रातीले नेपालका लागि स्वर्ण दिलाएका हुन् ।

महिला १४ देखि १८ वर्ष एडभान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा निर्णायक तथा प्रशिक्षक रवि शाहीले जानकारी गराएका छन् ।

सुविता गौतमले नेपालकै जुलियाना मोक्तानलाई रजतमा खुम्चाउँदै स्वर्ण हात पारिन् । गौतमले १० वर्ष मुनि इन्टरमिडियट विधामा उक्त पदक प्राप्त गरेकी थिइन् ।

नेपालका लागि स्वर्ण जित्ने क्रममा अर्की खेलाडी अनुभाले ११ देखि १४ वर्ष ईन्टरमिडियट विधामा नेपालकै नान्सी क्षेत्रीलाई पराजित गर्दै स्वर्ण पोल्टामा हालिन् ।

१० दिन अगाडि मात्र क्यानडा कराते संघको आयोजनमा भएको सातो कप ईन्टरनेशनल २०२० मा नेपालका लागि स्वर्ण दिलाएका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धर भने रजतमानै खुम्चन बाध्य भए ।

मानन्धर पुरुष ४५ वर्ष एडभान्स विधामा मोरोक्कोका अजिर कायरसंग पराजित हुँदै रजतमा खुम्चन बाध्य भए ।

२२ देखि ४५ महिला एडभान्स विधामा रिना श्रेष्ठ ईटालीकी ईलियोनोभा कोलेट्टोंग पराजित हुँदै रजतमा नै चित्त बुझाउन बाध्य भइन् ।

सातो कपमानै स्वर्ण दिलाउन सफल नेपाली अर्की खेलाडी निता आचार्य पनि रजतमा खुम्चिइन् । १९ देखि २१ वर्षको गर्ल्स एडभान्स विधामा आचार्य ईटालीकी सारा लङ्गोसंग पराजित भएकी थिइन् ।

सत्कार घर्ती मगर र राजकुमार श्रेष्ठ भने कास्य पदकभन्दा माथि पुग्न सकेनन् । मगर १० वर्षमुनि ब्वाईज एडभान्समा र राजकुमार २२ देखि ४५ वर्ष एडभानसमा पराजित हुँदै कास्यमा सीमित भएका हुन् ।

२० देखि २१ नोभेम्बरसम्म संचालित च्याम्पियनसिपमा नेपालसहित १६ राष्ट्रका २५० खेलाडीहरूले आफ्नो कौशलता अनलाईनमार्फत प्रदर्शन गरेका थिए ।

Published : Wednesday, 2020 November 25, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया