रविन्द्र, नीतालगायतले जिते करातेमा स्वर्ण

काठमाडौं । खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् ।

क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन ‘जी’को ४० वर्षमाथिको पुरुष मास्टर्स ब्राउनदेखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुुन् ।

नरहरिपुर डोजो, मच्छेगाउँका प्रमुख प्रशिक्षक समेत रहेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेका थिए । नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका उनले २३.५२ अंक जोडेका थिए । पराजित माईकले २२.०६ अंक प्राप्त गरेका थिए ।

मानन्धरले १५ दिनअघि मात्र पनि कराते फिलिपिन्स लिगको आयोजनमा भएको सातौं नासिमुरा कप अनलाईन कराते च्याम्पियनपिमा नेपालका लागि स्वर्ण जितेका थिए ।

प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य गरि ६ पदक जितेको छ । नेपालको लागि स्वर्ण दिलाउने क्रममा महिला डिभिजन ३९ अन्तर्गत ब्लुदेखि ब्राउन बेल्ट समूहमा नीता आचार्यले २४.७२ अंकका साथ स्वर्ण जितिन् ।

आचार्यले युबिसी गोजुरियोकी थी अडसेनलाई पराजित गरेकी थिइन् । थीले २४.१० अंक प्राप्त गरेकी थिइन् । निताले अक्टोबर ३० र ३१ मा नेशनल कराते अफ ब्राजिलको आयोजनमा भएको अनलाईन कराते वर्ल्ड च्याम्पियनसिमा पनि स्वर्ण हात पारेकी थिइन् ।

नीताले केरला कराते संघको आयोजनमाम भएको सदगुरु मास्टर्सकप अनलाईन ईन्टरनेशनल कराते काता च्याम्पियनसिपमा पनि स्वर्ण हात पारेकी थिइन् ।

नेपालका लागि अर्को २ स्वर्ण सन्जु देसार र मनीष कार्कीले जोडे । सञ्जुले डिभिजन २७ अन्तरगत महिला १४–१५ वर्ष ब्लुदेखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिशा क्वानलाई फाईनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । सञ्जुले २३.६२ अंक जोडेकी थिइन् भने पराजित क्वानले २२.२८ अंक जोडेकी थिइन् ।

मनीष कार्कीले डिभिजन ३० को पुरुष १४–१५ वर्ष ब्लुदेखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काईका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । मनीषले २४.४६ अंक प्राप्त गर्दा हिरोकीले २४.१६ अंक प्राप्त गरेका थिए ।

नरहरिपुर डोजो, मच्छेगाउँका उपाध्यक्ष हाल मकाउ निवासी मनिनकुमार महर्जनको सहयोगमा सहभागित जनाएको प्रतियोगितामा डिभिजन एफ अन्तरगत पुरुष ब्लाकबेल्ट ईलाईटमा स्वनिम मानन्धरले २२.९२ अंकका साथ कास्य प्राप्त गरे ।

डिभिजन डी पुरुष १६–१७ बर्ष ब्लाकबेल्ट ईलाईटमा प्रनिल मानन्धरले २२.४० अंकका साथ कास्य प्राप्त गरेको खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।

विजयी खेलाडीहरू सबै नरहरिपुर डोजो, मच्छेगाउँका खेलाडीहरू रहेको समेत प्रशिक्षक मान्धरले बताए ।

प्रतियोगितमा क्यानडा लगायत नेपाल, भारत, युएसए, मोजाम्बिक, अष्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरि ९ राष्ट्रको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2020 November 17, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया