ओलीका मुख्यमन्त्री हटाउन नेकपाभित्रै हस्ताक्षर, थाहा पाएपछि पौडेलको ओठमुख सुक्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली निकट मानिने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउन चलखेल भएको छ ।

आइतबार मकवानपुरमा आयोजित जिल्ला समन्वय समितिको पाँचौँ जिल्ला सभालाई सम्बोधन गर्ने क्रममा पौडेलले आफूलाई मुख्यमन्त्री पदबाट हटाउन चलखेल भएको बताएका हुन् । उनले आफूलाई हटाउन मकवानपुरकै सांसदबाट चलखेल भएको आरोप लगाए ।

केन्द्रीमा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू सक्रिय भएका बेला ओली निकट मानिने मुख्यमन्त्री पौडेललाई पनि हटाउन चलखेल भएको छ ।

पौडेलले जिल्लाकै सांसदहरूले अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्रीबाट हटाउन खोजेको बताएपछि नेकपाभित्र खैलाबैला भएको छ ।

‘मलाई मकवानपुरबाटै हटाउने खेल भइरहेको छ’, उनले भने, ‘यहीँका सांसदहरूले अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोज्नुभएको छ ।’

मुख्यमन्त्री पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मकवानपुरबाटै शुरु भएको बताएका छन् ।

‘अविश्वासको प्रस्तावमा हस्ताक्षर पनि गरेका हुन्’, उनले भने, ‘त्यो पनि मकवानपुरबाटै शुरु भएको हो ।’ पौडेलले आफूलाई मुख्यमन्त्रीबाट हटाइए पनि कुनै चिन्ता नभएको बताएका छन् ।

पार्टीभित्रैबाट आफूलाई मुख्यमन्त्रीबाट हटाउने कुरा थाहा पाएपछि पौडेल तनाबमा परेका छन् ।

Published : Sunday, 2020 August 9, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया