पूर्वमन्त्रीसहित राप्रपाका दर्जन केन्द्रीय सदस्यहरू कांग्रेस प्रवेशको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले नेपाली कांग्रेस प्रवेशका लागि अन्तिम चरणको तयारी गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइरालालगायतसँग थापाले आफ्नो सम्पर्क सूत्रमार्फत पार्टी प्रवेशको इच्छा देखाएका हुन् । थापाले कांग्रेस प्रवेश गर्दा आफूलाई महामन्त्री पद दिन प्रस्ताव गरेका छन् ।

तर, थापालाई तत्काल नै महामन्त्री पद दिने पक्षमा कांग्रेस छैन । स्रोतका अनुसार थापालाई सभापति देउवाले राप्रपाका एक दर्जनभन्दा धेरै केन्द्रीय सदस्यहरूसहित कांग्रेस प्रवेश गर्ने भए सह–महामन्त्रीसम्म दिन सकिनेछ जवाफ दिएका छन् ।

१४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा थापालाई पदाधिकारी दिँदा असर पर्ने पौडेल–कोइराला समूहको निस्कर्ष छ । थापालाई पदाधिकारी नदिएर कांग्रेसको केन्द्रीय सदस्य बनाउन पौडेल–कोइरालाको अडान रहेको स्रोतले जनाएको छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा समेत रहेका पूर्वमन्त्री थापाले गृहजिल्ला धनकुटामा प्रतिनिधि सभाका लागि टिकट सुरक्षित हुनुपर्ने माग पनि गरेका छन् । वार्तामा कुरा मिल्याे भने थापा साउन महिनाभित्रै कांग्रेसमा दलबलसहित प्रवेशकाे तयारीमा रहेकाे एक नेताले बताए ।

राप्रपाका नेता थापासँग वार्ता गरेर कुरा मिलाउन सभापति देउवाले उपसभाति निधिलाई जिम्मेवारी दिएका छन् । निधिले थापासँग निरन्तर वार्ता गर्दै आएको स्रोतले जनाएको छ ।

कांग्रेसमा मिसिएका लोकतान्त्रिक फोरमसहितका केही साना दलहरू समायोजनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले बखेडा झिकिरहेका बेला राप्रपाका नेता एवम् पूर्वमन्त्री थापा पार्टी प्रवेशको तयारीमा रहेका हुन् ।

Published : Sunday, 2020 July 19, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया