ओलीसामु दाहालको ‘दाल गलेन’, खुमलटारमा गोप्य भेला

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना दुबै कुर्सीमा देखिएका खतराहरू टार्न महाधिवेशनको ‘जाल’ फालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको खैलाबैला भएको छ ।

ओलीले शनिबारको सचिवालय बैठकमा मंसिरमा एकता महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावप्रति दोस्रो तहका अध्यक्ष पुष्कमल दाहाल सकारात्मक देखिएका थिए ।

ओलीले महाधिवेशनमा दाहाललाई साथ दिएर अध्यक्ष बनाउने आश्वासन दिएपछि कुरा सहमति नजिक पुगेको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालले ओली–दाहालबीच भएको सहमतिलाई सिधै अस्वीकार गरिदिएपछि दाहाल झस्किएका छन् ।

दोस्रो वरीयताका अध्यक्ष दाहालले आफ्नो छोरी गंगा दाहाललाई फेसबुकमा स्टाटस लेख्न लगाएर महाधिवेशनका विषयमा छलफल भएपनि सहमति नभएको धारणा बाहिर ल्याएका थिए ।

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग भएपछि सहमतिका लागि केपी ओलीले मंसिरमा एकताको महाधिवेशन प्रस्ताव गरेका हुन् । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिरमा महाधिवेशन गर्ने विषयमा सकारात्मक भएका चर्चाहरू बाहिरिएका छन् ।

प्रचण्डकी छोरी गंगा दाहालले महाधिवेशनका विषयमा छलफल भएको बताएकी छिन् । तर, सहमति नभएको उनले बताएकी छिन् ।

‘शनिबार अध्यक्षद्वय बीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरू (महाधिवेशन लगायतका)मा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन’, उनले फेसबुकमा लेखेकी छिन्, ‘सम्पूर्ण विषयहरू छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

वरिष्ठ नेता नेपाल निकट मानिने केन्द्रीय सदस्य जगन्नथ खतिवडाले मंसिरमा महाधिवेशन सम्भव नरहेको बताएका छन् ।

आइतबार बिहान एउटा रेडियोसँगको कुराकानीमा खतिवडाले मंसिरमा महाधिवेशन गर्ने कुरा असम्भव रहेको बताएका छन् ।

‘मंसिरमा महाधिवेशन हुन सक्दैन । यो सबै छलछामको कुरा हो’, उनले भने, ‘केन्द्रीय कमिटीको बैठक बोलाउन नसक्नेहरूबाट महाधिवेशन हुन्छ भन्ने कुरा विश्वास छैन । सक्नु हुन्छ भनेर राष्ट्रिय भेला गरेर देखाइदिनुस् ।’

पार्टीभित्रकै सीमित नेताहरूका कारण आफूमाथि आइपरेको संकटलाई टार्न ओलीले सबै प्रयास र जुक्तिहरू निकालेका छन् । तर, ओलीका जुक्ति र प्रयासहरूलाई दाहाल–नेपाल समूहले १२ घण्टा पनि टिक्न दिएका छैनन् ।

यसैबीच, मंसिरको महाधिवेशनको प्रस्तावबारे धारणा बनाउन दाहालले आफ्नो निवास खुमलटारमा छ जना सचिवाय सदस्यहरूलाई बोलाएका छन् ।

खुमलटारको बैठकमा ओलीका ‘जाल’हरूका बारेमा कुराकानी भएको स्रोतले जनाएको छ । गाेप्य भेलामा दाहालले माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरूलाई बाेलाएका छन् ।

Published : Sunday, 2020 July 19, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया