ओलीको अडानसामू प्रचण्डले घुँडा टेके, मलिन अनुहार लिएर निस्किए नेताहरू

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली र असन्तुष्ट समूहले अडान यथावत राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निस्कर्ष सकिएको छ ।

बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा ओलीको राजीनामाका विषयमा छलफल भएको थियो । ओलीले बैठकमा राजीनामा दिन नसक्ने पुरानै अडान दोहोर्‍याएपछि सहमति नभएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सहमतिका लागि गृहकार्य भइरहेको बताए । ‘अझै छलफल गरेर पार्टी एकतालाई रक्षा र सुदृढ गरेर जनताको जनादेशअनुसार नै काम गर्ने गरेर अझै थप छलफल गर्ने सहमति भएको छ’, उनले भने, ‘आइतबारको पूर्वनिर्धातिरत स्थायी समितिको बैठक केही समयपछि बस्ने निर्णय भएको छ ।’

प्रवक्ता श्रेष्ठले ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिने प्रस्ताव औपचारिक रुपमा बैठकमा नआएको दाबी गरे । उनले सञ्चारमाध्यममा आएका राजीनामाका कुराहरूमा सत्यता रहेको स्वीकार गरे ।

‘दुबै पदबाट राजीनामा दिने कुनै पनि औपचारिक प्रस्ताव बनिसकेको छैन’, उनले भने, ‘विभिन्न विचारहरू प्रस्ताव गर्नुभएको थियो । दुबै पदबाट राजीनामा गर्ने प्रस्ताव बैठकमा प्रस्तुत भएको छैन । सहमतिका आधारमा कुरा राखौँ भनिएको छ ।’

‘बिकल्पमा छलफल भएको छ । को प्रधानमन्त्री भनेर ओलीले भन्नुभएको छैन’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।

नेकपाको विवाद समाधानका लागि नेताहरूका बीच प्रयास भएपनि ओलीको राजीनामा माग गरेका कारण कुरा मिल्न सकेको छैन । ओलीले राजीनामा नदिने बरु प्रक्रियाअनुसार अगाडि बढ्न असन्तुष्ट समूहलाई चेतावनी दिएका छन् ।

केन्द्रीय सचिवालयको बैठकमा ओलीको अडानपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू मलिन अनुहार लिएर बालुवाटारबाट बाहिरिएका छन् ।

नेकपाकाे विवाद मिलाउन अर्ली महाधिवेशनकाे कुरा उठेकाे छ । ओलीले सरकार नै चलाउने । दाहालले पार्टी चलाउने गरेर गृहकार्य भएकाे छ । बैठक सकिएपछि ओली र प्रचण्ड राष्ट्रपतिसँग कुरा गर्न शीतल निवास पुगेका छन् ।

Published : Saturday, 2020 July 18, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया