कांग्रेसद्वारा २९९ जनालाई कारबाही, पार्टीबाटै निकाला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीयभन्दा स्थानीय तहका साना नेता तथा कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।

ठूला नेताहरूको दवाव र प्रभावमा अनुशासन समितिले कार्य गरेको आरोप लागेको छ । ठूला नेतालाई समितिले छुन पनि सकेको छैन ।

१ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् ।

०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने तथा पार्टी निर्णयविरुद्ध निर्वाचनमा लाग्नेलाई कांग्रेसले उजुरी खोलेर कारबाही गर्दै आएको छ ।

समितिको निर्णयअनुसार हालसम्म २ सय ९९ जना कारबाहीमा परेका छन् । समितिले १ हजार ५२ जनालाई स्पष्टीकरण सोधेको छ ।

२ सय ९९ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । कारबाहीमा पर्नेहरूमा अधिकांश नेताहरू तल्लो तहका छन् ।

अनुशासन समितिको संयोजक भीष्मराज आङ्दम्बे छन् । उनले ठूला नेतालाई चलाउनै सकेका छैनन् ।

समितिमा सभापति शेरबहादुर देउवा, नेता गोविन्दराज जोशी, कैलालीका नेता पुष्कर ओझा र अनुशासन समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलविरुद्ध उजुरी आएको छ ।

सभापति देउवाविरुद्ध गोरखाका नेता राजेन्द्र बजगाइँले उजुरी दिएका थिए । बजगाइँ पहिला देउवा निकट थिए । कुरा नमिलेपछि बजगाइँले देउवालाई छाडेर महामन्त्री डा.शशांक कोइरालाको गुटमा छिरेका छन् । क्यासिनाे किंगले चिनिने बजगाइँ अबसरवादी नेताका रूपमा परिचित छन् ।

Published : Thursday, 2020 July 16, 7:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया