कोरोना समुदायमा फैलिन थालेपछि सचेत बन्यो कांग्रेस, जीवन बचाउन कम्युनिस्ट सरकारसँग अपील

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले कोरोना महामारी समुदायमा फैलिन थालेको संकेत देखिएको बताएका छन् ।

ललितपुरको सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा डा.महतले समुदायमा कोरोना फैलिने संकेत देखिएकाले सरकारलाई सचेत हुन आग्रह गरेका हुन् ।

उनले संक्रमण समुदायमा फैलिन थालेको प्रारम्भीक संकेत देखिएको बताए । क्वारेन्टिन केन्द्र तत्काल मापदण्डअनुसारको बनाउन र परीक्षणको दायरा बढाउन संयोजक डा.महतले आग्रह गरेका छन् ।

उनले भने, ‘संक्रमण समुदायमा फैलन थालेको प्रारम्भिक संकेत देखिन थालेको छ । समुदायमा संक्रमण फैलदा ज्येष्ठ नागरिकहरुमा समेत फैलिएर मृत्युदर पनि बढ्ने विज्ञहरूको आंकलन छ ।’

सह–महामन्त्री डा.महतले कोरोना संक्रमण समुदायमा फैलिन नदिन समुदायमा गई ट्रेसिङ र ट्रयाकिङ गरी परीक्षणको दायरा बढाउनुपर्ने बताए । उनले क्वारेन्टिनमा रहेकाहरूलाई मात्रै परीक्षण सीमित गरेको पाइएको भन्दै सबैको कोरोनाको नमूना परीक्षण गर्न माग गरेका छन् ।

उनले भने, ‘क्वारेन्टिन केन्द्रहरूलाई सञ्चालन गर्न आवश्यक आर्थिक व्यवस्था, क्वारेन्टिन केन्द्रहरुरूमा रहेको चापका आधारमा केन्द्र र प्रदेशले तत्काल स्थानीय तहलाई बजेट निकासा गर्नुपर्छ ।’

नेपाली कांग्रेसले पीसीआर परीक्षणको दायरा बढाउन र यसका लागि परीक्षण किटको समुचित व्यवस्था गर्न माग गरेको छ ।

‘निजी क्षेत्रलाई परीक्षण किट र आयात गर्ने सुविधा देऊ, जहाँ धेरै संक्रमण छ’, सह–महामन्त्री डा.महतले भने, ‘त्यही समुचित परीक्षण गर्ने व्यवस्था मिलाउ र तत्काल नजिता प्रकाशित गर ।’

कांग्रेसले विदेशबाट बेरोजगार भई फर्केका र देशभित्रै बेरोजगार भएकाहरूलाई गाउँ–गाउँमा रोजगारी सुनिश्चित गर्न न्यूनतम आम्दानीका लागि काम दिने व्यवस्था गर्न पनि माग गरेको छ ।

कांग्रेसका सह–महामन्त्री डा.महतले मौद्रिक नीतिमार्फत व्याजदर लगायत अन्य मौद्रिक उपायहरू प्रयोग गरी आहत भएका विभिन्न क्षेत्रका उद्योग व्यवसायलाई बैंकमार्फत व्याजमा राहत, सावा, व्याजको भुक्तानीमा थप समयको व्यवस्था गर्न पनि माग गरेको छ ।

उनले विदेशबाट फर्कन चाहने श्रमिक, विद्यार्थीहरुलाई तत्काल चाटर्ड उडानको सट्टा नियमित उडानको व्यवस्था गर र फर्कने यात्रुहरूको अनिवार्य परीक्षण र आवश्यकता अनुसार मापदण्ड अनुरुपको क्वारेन्टिनमा राख्न पनि माग गरेका छन् ।

नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारका लागि लापरबाही गरेको भन्दै सह–महान्त्री डा.महतको संयोजकत्वमा कोरोना अनुगमन समिति बनाएको थियो ।

समितिले क्वारेन्टिनको स्थलगत अनुगमन गर्नेदेखि टेकु अस्पताललगायत सरकारका मन्त्री एवम् सरोकारवाला निकायसँग परामर्श गरेको थियो ।

सोही परामर्शका आधारमा समितिका संयोजक डा.महतले पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

Published : Wednesday, 2020 July 15, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया