समस्यामा परेकाहरूको आवाज उठाउँदै कांग्रेस, व्याज मिनाह र सहुलीयत ऋण दिन माग

काठमाडौं । नेपाली कांग्रेसले साना तथा मझौला उद्योगी व्यवसायीहरूको समस्या समाधान हुने गरेर मौद्रिक नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री समेत रहेका कोरोना अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतसहितको टोलीले उद्योगी व्यवसायीहरूलाई सहयोग हुने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताएको हो ।

मंगलबार राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँगको भेटमा कांग्रेस नेताहरूले कोरोना भाइरसको महामारी र लकडाउनका कारण ठूलो समस्या भएको भन्दै सबैलाई हुने गरेर नीति ल्याउनुपर्ने जनाएका हुन् ।

सह–महामन्त्री डा.महतले कोरोनापछि उत्पन्न परिस्थिति गम्भीर रहेको बताए ।

उनले साना तथा मझौला व्यावसायीलाई सहज रुपमा चल्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिए ।

साना तथा मझौला उद्योगधन्दा चल्ने वातावरण भए/नभएको भनेर व्यावसायीले व्यवसाय सञ्चालन गर्न कठिन भएको गुनासो कांग्रेसको कोरानो अनुमगन समिति समक्ष गरेको डा.महतले बताए ।

व्यवसायीहरूको समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्यतातिर ध्यान दिनलाई डा.महतले राष्ट्र बैंकका गर्भनर अधिकारीलाई आग्रह गरेका छन् ।

अहिले असाधारण परिस्थिति भएको र रोजगारी गुम्दै गएको भन्दै डा.महतले त्यो समस्यालाई समाधान गर्ने प्रमुख कर्तब्य राष्ट्र बैंक भएको बताए । उनले मौद्रिक नीतिमा यसबारे केही व्यवस्था गरेर मौद्रिक नीति सार्वजनिक गर्न आग्रह गरे ।

रोजगारी गुम्न नदिन उद्योग व्यावसायीहरूलाई बचाउनुपर्ने र उनीहरूलाई बचाउन ब्याज तथा सहुलीयत ऋणको व्यवस्था गर्न राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने कांग्रेसका सह–महामन्त्री डा.महतले गभर्नर अधिकारीसँग आग्रह गरेका छन् ।

जवाफमा गभर्नर अधिकारीले कांग्रेसको सुझावलाई आफूले आत्मसात गरेको भन्दै मौद्रिक नीतिमा सुझाव र सल्लाहलाई विशेष स्थान दिइने आश्वासन दिएका छन् ।

गभर्नर अधिकारीसँगको भेटका लागि सह–महामन्त्री एवम् समितिका संयोजक डा.महतका साथै सदस्यहरू एनपी साउद, डा.चन्द्र भण्डारी, राजीवबिक्रम शाह, डा.प्रभु बुढाथोकी, डा.पोषराज पाण्डे, नैनसिंह महर राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेका थिए ।

Published : Tuesday, 2020 July 14, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया