विश्वप्रकाशले मिलाए नवलपरासी कांग्रेसको विवाद, खुसी हुँदै घर फर्किए नेताहरू

काठमाडौं । नेपाली कांग्रेस नवलपरासीको विवाद समाधान भएको छ ।

ललितपुरकाे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा साेमबार प्रवक्ता विश्वप्रकाश शर्माले नवलपरासी कांग्रेसका दुबै पक्षलाई राखेर सहमति गराएका हुन् । याेसँग विवाद समाधान भएकाे छ ।

जिल्ला सभापतिमा विष्णुप्रसाद पौडेललाई सभापति शेरबहादुर देउवाले मनोनीत गरेपछि विवाद भएको थियो ।

देउवाले आफू निकटका पौडेललाई सभापतिमा मनोनीत गरेको भन्दै महामन्त्री डा.शशांक कोइराला रूष्ट बनेका थिए ।

संघीय संरचनामा मुलुक जाँदा नवलपरासी (बर्दघाट पूर्व) र (बर्दघाट सुस्ता पश्चिम) गरी दुइटा जिल्ला बनाइएको थियो ।

०७२ सालमा भएको अधिवेशनबाट निर्वाचित सभापति विष्णु लामिछाने नवलपुर (बर्दघाट पूर्व)मा क्रियाशील रहँदा पश्चिम नवलपरासीमा सभापति रिक्त रहेको थियो ।

तत्कालीन जिल्ला उपसभापति अर्जुनकुमार पोखरेललगायतले त्यसमा असहमति राखेका थिए । पोख्रेल महामन्त्री डा.कोइराला निकट हुन् ।

उनले वरिष्ठताका आधारमा पनि आफूलाई पश्चिम नवलपरासीको सभापतिको जिम्मेवारी दिनुपर्ने माग गरेका थिए ।

सभापति नहुँदा उनी कार्यबहाक जिल्ला सभापति भएर पनि काम गरिसकेका थिए ।

सभापति देउवाले उपसभापति रहेका पोख्रेललाई जिम्मेवारी नदिएर पौडेललाई सभापति मनोनीत गरेपछि महामन्त्री डा.कोइरालाले असन्तुष्टि जनाएका थिए ।

नवलपरासी जिल्लाको कांग्रेसमा देखिएको गुटगत विवाद चार महिनापछि सोमबार केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा छलफल गरेर टुंग्याइएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्यसचिव कृष्णप्रसाद पौडेलले दुवै पक्षका जिल्ला नेतालाई राखेर छलफल गर्दै सात बुँदे सहमति गरेका हुन् ।

सात बुँदे सहमतिमा सभापति विष्णुप्रसाद पौडेल, उपसभापति अर्जुनकुमार पोखरेल, बिक्रम खनाल र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

दुई गुटबीच भएको सहमतिमा पौडेललाई नै सभापतिमा सबैले सहयोग गरेर जाने उल्लेख छ ।

कांग्रेसको संघीय विधानअनुसार जिल्लामा रहने दुई जना उपसभापति पनि टुंग्याइएको छ ।

उपसभापतिमा अर्जुनकुमार पोखरेलपछि तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सभापति सुवास गिरी उपसभापति रहने सहमति छ ।

Published : Tuesday, 2020 July 14, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया