खड्गप्रसाद ओलीलाई माफी माग्न नेकपाका शक्तिशाली नेताको दवाव, बालुवाटारमा खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई रामको जन्मभूमिका विषयमा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन सुझाव दिएका छन् ।

नेकपाका उपाध्यक्ष गौतमले मंगलबार विज्ञप्ति जारी गरेर ओलीको अभिव्यक्तिले नेपाल र भारतका रामभक्तहरूको भावनामा चोट लागेको बताएका छन् । उनले तथ्य र प्रमाणविना ओलीले दिएको अभिव्यक्तिको कुनै तुक नरहेको उल्लेख गरेका छन् ।

‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु’, गौतमले भनेका छन् ।

‘प्राविधिक तथा इतिहासविदहरूको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्गप्रसाद ओलीलाई विनम्र अनुरोध पनि गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ’, गौतमले भनेका छन् ।

‘आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषयबारे चर्चा गर्नुभएको थियो’, गौतमले भनेका छन्, ‘मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ ।’

‘मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो’, नेकपाका उपाध्यक्ष गौतमले भनेका छन्, ‘नभन्दै हिजो तथ्य प्रमाणविना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।’

‘केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ’, उनले भने, ‘अहिले उहाँ चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरू जुटाउन, आएका अनुमानहरूको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ ।’

‘उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो’, गौतमले भनेका छन् ।

‘भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरूका निम्ति केही फरक पर्दैन’, उनले भने, ‘रामका भक्तहरू नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहासप्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौँ ।’

उनले भने, ‘नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरूको नेपाल रहँदासम्म प्रसंशा गरिरहिनेछ ।’

‘संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरू करोडौंको संख्यामा रहेका छन्’, उनले भने, ‘उनीहरूको धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न कसैले हुँदैन ।’

‘त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न’, उनले भने, ‘यस अर्थमा हामी कम्युनिष्टहरू धर्म निरपेक्ष हुन चाहन्छौँ ।’

ओलीले भारतले नक्कली राम जन्मभूमि बनाएको भन्दै अयोध्या नेपालमै रहेको अभिव्यक्ति सोमबार दिएपछि भारतमा त्यसको विरोध भएको छ ।

Published : Tuesday, 2020 July 14, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया